मकालु वरुण राष्ट्रिय निकुञ्जले बहुमूल्य जडीबुटी यार्सागुम्बा सङ्कलनका लागि जेठ २५ देखि असार २५ सम्मको अवधि खुला गरेको छ। निकुञ्ज कार्यालयका सूचना अधिकारी संस्कार सुवेदीका अनुसार यस अवधिभर यार्सागुम्बा सङ्कलन गर्न पाइनेछ।
निकुञ्ज क्षेत्रमा दुई प्रजातिका यार्सा पाइन्छन्। सङ्कलनका लागि हेदाङनागढी, हटिया (भोटखोला), सेदुवा (मकालु), गोला पोष्ट (भोटखोला), ताम्कू (सिलिचोङ), बुङ (महाकुलुङ) र छेस्काम रेञ्पोष्ट (महाकुलुङ) बाट पुर्जीको व्यवस्था मिलाइएको छ।
सङ्कलन पुर्जी अनिवार्य छ। प्राथमिक उपचार सामग्री, ग्यास वा स्टोभ र त्रिपाल लैजान अनुमति छ। तर, विष्फोटक पदार्थ, खुकुरी, चक्कु, डोरी, पासो, भाला, गुलेली, लाउड स्पिकर र ड्रमसेट लैजान प्रतिबन्ध लगाइएको छ।
मकालु, भोटखोला, सिलिचोङ गाउँपालिका र सोलुखुम्बुको महाकुलुङ गाउँपालिका क्षेत्रमा यार्सा पाइन्छ। यार्सागुम्बा उच्च हिमाली क्षेत्रका बासिन्दाको मुख्य आम्दानीको स्रोत हो। यसबाट स्थानीयले वर्षभरिको घरखर्च र बालबालिकाको पढाइ खर्च जुटाउँछन्।
निकुञ्जले मध्यवर्ती क्षेत्रभित्रका स्थानीयलाई रु ५०० शुल्क तोकेको छ। मध्यवर्ती बाहिरका सङ्खुवासभा र सोलुखुम्बुका बासिन्दाका लागि रु दुई हजार शुल्क छ। जिल्ला बाहिरकालाई रु तीन हजार शुल्क लाग्नेछ।
विगतका वर्षमा निकुञ्जले यार्सागुम्बाबाट वार्षिक रु ५० लाखभन्दा बढी राजस्व सङ्कलन गरेको थियो। गुणस्तरका आधारमा यार्सागुम्बा प्रतिकेजी रु ४० लाखसम्म बिक्री हुने गरेको छ। यस क्षेत्रको यार्सा प्रतिकेजी रु पाँच लाख ५० हजारदेखि साढे सात लाखसम्ममा किनबेच हुन्छ। सङ्कलित यार्सा चीनको तिब्बत र काठमाडौँतर्फ निकासी हुन्छ। मकालु वरुण राष्ट्रिय निकुञ्ज सङ्खुवासभा र सोलुखुम्बुमा एक हजार ५०० वर्ग किलोमिटरमा फैलिएको छ।
