चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो १० महिनामा वीरगञ्ज नाकाबाट ८८ अर्ब २२ करोड रुपैयाँ बराबरका वस्तु निर्यात भएका छन्। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा वृद्धि हो।
वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार गत आर्थिक वर्षको सोही अवधिमा ८३ अर्ब २५ करोड रुपैयाँ बराबरका वस्तु निर्यात भएका थिए।
चालु आवको १० महिनामा ४८ अर्ब ११ करोड रुपैयाँ बराबरको प्रशोधित भटमासको तेल निर्यात भएको छ। यसबाहेक, पाँच अर्ब ३५ करोड रुपैयाँको प्रशोधित सूर्यमुखी तेल र छ अर्ब ४२ करोड रुपैयाँ बराबरको फलफूलको रस निर्यात भएको छ।
अन्य निर्यात हुने वस्तुहरूमा तीन अर्ब तीन करोड रुपैयाँका कपडा र दुई अर्ब २५ करोड रुपैयाँ बराबरको ‘सिन्थेटिक यार्न’ रहेका छन्।
