भारतका १५ भन्दा बढी राज्यहरूमा चर्को गर्मीका बीच प्रि-मनसुन वर्षा र आँधीबेहरीले जनजीवन अस्तव्यस्त बनाएको छ। पछिल्लो २४ घण्टामा बिहार र उत्तर प्रदेशमा आएको भीषण आँधीबेहरी, वर्षा र चट्याङका कारण कम्तीमा ४८ जनाको मृत्यु भएको छ।
भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार उत्तर प्रदेशमा ३१ जनाको ज्यान गएको छ भने बिहारमा १७ जनाको मृत्यु भएको छ। उत्तर प्रदेशको सहारनपुरमा भारी वर्षाले पहाडबाट आएको बाढीले एउटा इनोभा कार र ट्रयाक्टरसहित १० वटा सवारी साधन बगाएको छ। मौसम विभागले उत्तर प्रदेशका सबै ७५ जिल्लामा वर्षाको चेतावनी जारी गरेको छ।
बिहारको राजधानी पटनामा खराब मौसमका कारण हवाई उडानहरू प्रभावित भएका छन्। चारवटा उडानलाई अन्यत्र डाइभर्ट गरिएको छ भने १८ वटा उडान ढिलाइ हुँदा ५०० भन्दा बढी यात्रु अलपत्र परेका छन्। आज बिहारका २५ जिल्लामा वर्षाको अनुमान गरिएको छ।
गर्मीले सताइरहेको बेला प्रि-मनसुनले केही राहत दिए पनि तापक्रम ४५ डिग्री सेल्सियसभन्दा माथि छ। मौसमविद्हरूले मौसममा आएको उतारचढावले बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पुर्याउन सक्ने चेतावनी दिएका छन्। बालबालिकालाई ‘हिट स्ट्रोक’ (लु लाग्ने) हुन सक्ने भएकाले उनीहरूको आहार र दैनिक दिनचर्यामा ध्यान दिन सुझाव दिइएको छ।
भारतीय मौसम विज्ञान विभागका अनुसार आगामी सात दिनभित्र मनसुन केरला प्रवेश गर्ने अनुमान छ। यद्यपि, यस वर्षको मनसुन सरदरभन्दा कमजोर रहने अपेक्षा गरिएको छ। यस वर्षको मनसुन सिजनमा देशभर औसत ७८ सेन्टिमिटर वर्षा हुने अपेक्षा छ, जुन भारतको राष्ट्रिय औसत ८७ सेन्टिमिटरभन्दा कम हो।
मनसुन कमजोर हुँदा विशेष गरी वर्षामा निर्भर रहने भारतको कृषि क्षेत्र र किसानहरू प्रभावित हुन सक्ने अनुमान गरिएको छ।
