मुस्ताङको कोरला नाकाबाट नेपाल भित्रिएका ६४९ विद्युतीय सवारी साधन (ईभी) मा कुनै कैफियत नभएको छानबिन समितिले निष्कर्ष निकालेको छ।
भन्सार छलीको आशङ्कामा अनुसन्धान गर्न गठित समितिले स्थलगत अनुगमनपछि सबै गाडी कानुनी प्रक्रिया पूरा गरेरै भित्रिएको प्रारम्भिक प्रतिवेदन तयार पारेको हो।
भन्सार विभागको मूल्याङ्कन शाखाका निर्देशक भुपालराज शाक्य नेतृत्वको टोलीका अनुसार, ती गाडीहरू जेठ १२ र १३ गते नै भन्सार जाँच पास भइसकेका थिए।
जेठ १४ गते भन्सार अधिकृत काठमाडौँ फर्किसकेको अवस्थामा ‘गाडी यार्डमा नआउँदै जाँच पास गरियो’ भन्ने आरोप असत्य साबित भएको समितिका एक सदस्यले बताए।
सशस्त्र प्रहरी बलले राजस्व छलीको आशङ्कामा गाडी नियन्त्रणमा लिएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निर्देशनमा विशेष छानबिन समिति गठन गरिएको थियो।
समितिको प्रतिवेदनले गाडी आयातमा कुनै खोट नभेटिएको निष्कर्ष निकालेको छ। यद्यपि, सशस्त्र प्रहरीले ‘माथिको आदेश नआएको’ भन्दै गाडी छाड्न मानेको छैन।
छानबिन टोलीले कास्कीको पोखरा (हेम्जा)मा ९८, पर्वतको कुश्मामा १७ र जोमसोम आइपुगेका २६६ ईभीको अवस्था र कागजात जाँच गरेको थियो।
भन्सारका कागजपत्र अध्ययन गर्दा गाडीहरू वैधानिक बाटोबाटै नेपाल भित्रिएको पुष्टि भएको समितिका सदस्यले स्पष्ट पारे।
