गृहमन्त्री सुधन गुरुङले अब हरेक फाइल खोलिने उद्घोष गरेका छन्। गृह मन्त्रालयका चार महत्त्वपूर्ण निर्णय सार्वजनिक गर्दै उनले यस्तो बताए।
उनले नारायणहिटी राजदरबार हत्याकाण्डको थप छानबिन गर्नेदेखि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई सशक्त बनाउने निर्णय सुनाए।
गृहमन्त्रीले सुनाएका ४ निर्णय:
१. जेनजी आन्दोलनका मुद्दा: आन्दोलनसँग जोडिएका फौजदारी मुद्दा फिर्ता लिने वा नलिनेबारे छानबिन गर्न विशेष कार्यदल बन्नेछ।
२. दरबार हत्याकाण्डको थप छानबिन: २०५८ जेठ १९ को नारायणहिटी हत्याकाण्डको प्रतिवेदन अध्ययन गरी थप अनुसन्धान गरिनेछ।
३. सूचना चुहावट रोक्न एसआईभीटी गठन: गृह मन्त्रालय र सुरक्षा निकायको सूचना चुहावट रोक्न सेन्सेटिभ इन्फर्मेसन भिजिलियन्स टिम (एसआईभीटी) गठन हुनेछ।
४. सीआईबीमा विशिष्टीकृत समूह: सीआईबीलाई सशक्त बनाइनेछ। जघन्य, आर्थिक र सङ्गठित अपराध अनुसन्धान गर्न प्रकृतिअनुरूप विशिष्टीकृत समूह बन्नेछ।
‘मिडिया ट्रायल र चरित्र हत्या सहन्नौँ’
निर्णय सुनाउनुअघि गृहमन्त्री गुरुङले नागरिकको चरित्र हत्या गर्ने प्रवृत्तिविरुद्ध चेतावनी दिए। नेपाली महिलाको चरित्र हत्या प्रयास भएमा मन्त्रालय गम्भीर हुने उनले स्पष्ट पारे।
‘मिडिया ट्रायलमा कसैले आत्महत्या गर्न नपरोस्,’ उनले भने, ‘कुनै नागरिकको अपमान वा चरित्र हत्याको प्रयास भएमा मन्त्रालय संवेदनशील भएर एक्सनमा उत्रिनेछ।’
आफूमाथि आरोप लाग्दा टेक्न सक्ने तर नागरिकलाई दुःख दिएको हेर्न नसक्ने उनको भनाइ थियो। आलोचना तथ्यमा आधारित हुनुपर्ने भन्दै उनले भने, ‘जति अट्याक गर्नु छ बरु मलाई नै गर्नुहोला।’
मन्त्री गुरुङले अन्त्यमा भने, ‘अब हरेक फाइल खोलिन्छ।’
