कृषि, वन तथा पर्यावरण मन्त्रालयको किसान सूचीकरण प्रणालीमा देशभरका करिब २५ लाख किसान आबद्ध भएका छन्। यो प्रणालीले किसानको जमिनको विवरण र खेती उत्पादनका आधारमा उनीहरूलाई सूचीकृत गरेको छ।
उत्पादन वृद्धि गर्न आवश्यक सहुलियत र सुविधा प्रदान गर्ने उद्देश्यले किसानलाई विद्युतीय प्रणालीमार्फत सूचीकृत गरिएको कृषि सूचना केन्द्रका अधिकृत सञ्जीव पण्डितले जानकारी दिए। कृषि जनगणना, २०७८ अनुसार देशभर ४१ लाख ३० हजार किसान छन्। बाँकी १६ लाखभन्दा बढी किसानलाई सूचीकृत गर्ने कार्य जारी छ।
सबै किसानलाई सूचीबद्ध गरेपछि निर्वाहमुखी, साना, मझौला र ठूला किसान गरी चार प्रकारमा वर्गीकरण गरिनेछ। यस वर्गीकरणपश्चात परिचयपत्र वितरण र विद्युतीय सूचना प्रणालीमा आबद्ध गराइनेछ।
परिचयपत्रका आधारमा सरकारले अनुदान, रासायनिक मल, बीउ र सेवा व्यवस्थापनजस्ता सुविधा उपलब्ध गराउनेछ। देशभरका स्थानीय तहसँग समन्वय गरी किसानको सूचना र तथ्यांक संकलन गरिएको हो। केन्द्रले किसानलाई कार्यक्रममा नाम दर्ता गराउन आह्वान गरेको छ।
