एसिसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिताको क्वाटरफाइनलमा थाइल्यान्डसँग ५६ रनले पराजित भएसँगै नेपाली महिला क्रिकेट टोली एसिया कप छनोट हुने दौडबाट बाहिरिएको छ। मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट स्टेडियममा सम्पन्न खेलमा थाइल्यान्डले दिएको १३१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ७४ रन मात्र बनाउन सक्यो।
नेपालका लागि रुविना क्षेत्रीले अविजित २० रनको योगदान दिइन्। सोनी पाख्रिनले १५, सम्झना खड्का र सीता रानामगरले १२-१२ रन जोडे। अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।
यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको थाइल्यान्डले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा १३० रनको योगफल बनाएको थियो। थाइल्यान्डकी नानापाट खोन्चारोयन्काइले अविजित ६२ रनको उत्कृष्ट पारी खेलिन्। फानिता मायाले २६, चानिदा सुथिरूवाङले १६ र कप्तान नारूमोइ चाइवाइले ८ रनको योगदान दिए।
नेपाली बलरहरू कविता कुँवर, रुविना क्षेत्री र रिया शर्माले समान एक-एक विकेट लिए।
यसअघि यसै महिना मलेसियामा भएको एसियन गेम्स छनोटमा पनि नेपाल चीनसँग पराजित हुँदै बाहिरिएको थियो।
