गृह मन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै गृहमन्त्री सुधन गुरुङले २५ वर्ष पुरानो नारायणहिटी दरबार हत्याकाण्डको पुनः अनुसन्धान गर्ने घोषणा गरेका छन्। जेठ २६ गते पदबहाली गरेलगत्तै मन्त्री गुरुङले यो निर्णय सुनाएका हुन्। छानबिन प्रक्रियाको ढाँचा र मिति भने खुलाइएको छैन।
मन्त्री गुरुङको यस घोषणाले राजनीतिक वृत्तमा विभिन्न टिप्पणीहरू जन्माएको छ। केहीले यसलाई ‘स्टन्टबाजी’को संज्ञा दिएका छन् भने केहीले रहस्यमय घटनाको छानबिन सकारात्मक कदम भएको बताएका छन्।
नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले यस्ता विषयमा टिप्पणी गर्न जरुरी नभएको बताए। ‘कुन–कुन मन्त्रीले के के बोल्दै हिँड्छन्, त्यसको प्रतिक्रिया दिँदै हिँड्न आवश्यक हुन्न’, चालिसेले भने, ‘यसबारे पार्टीको धारणा पनि सार्वजनिक हुँदैन ।’
नेकपा एमालेका प्रचार तथा प्रचार विभाग प्रमुख निरज आचार्यले यसलाई न्यायिक र निष्पक्ष छानबिनभन्दा बढी ‘स्टन्ट’ मानेका छन्। ‘उद्देश्य प्रेरित, कसलाई के गर्ने ? स्क्रिप्ट तयार गरेर नाटक मञ्चनकला बनाइने आयोगबारे अहिले नै टिप्पणी गरिरहनु परेन’, आचार्यले भने।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता राजेन्द्रप्रसाद पाण्डेले घटनाको छानबिन हुनु राम्रो भए पनि पुरानो घटनाको सत्यतथ्य पत्ता लगाउन प्रमाण पाउन कठिन हुनसक्ने बताए। ‘त्यसबेला उक्त हत्याकाण्डको एक किसिमको छानबिन त भयो नै’, पाण्डेले भने, ‘त्यो छानबिनले केही कुरा सङ्केत ग¥यो तर अघि बढाउने आँट गरेन ।’
पाण्डेले दीपेन्द्रले २५ केजीको मेसिनगन बोकेर गोली चलाएको भन्ने निष्कर्षलाई शंकास्पद माने। ‘यहाँ शङ्का गर्ने ठाउँ छ। शङ्का गरिएको कुरालाई ध्यानमा राखेर उक्त हत्याको प्रमाण खोज्न सक्ने हिम्मत कसरी हुन्छ ?’, उनले प्रश्न गरे। ‘एक हजारभन्दा धेरै सेनाको सुरक्षामा बसेको राजपरिवार मारिएको छ। त्यो कसले ग¥यो होला त ? त्यसमा पनि होस नै नभएका युवराजले हत्या गरे भनेर कति पत्याउने ?’
पाण्डेका अनुसार दीपेन्द्रको मुखुण्डो लगाएर पाँचसात जना मानिसले घटना गराएको भन्ने सुनेको र मरिसकेपछि पनि श्रीपेच लगाएर राजा बनाउनेजस्ता कार्यले घटनालाई थप शंकास्पद बनाएको छ। ‘जसले सुरक्षा गर्थ्यो र गर्न सकेन, त्यही हो दोषी। तर त्यहाँसम्म पुग्ने यो सरकारको हिम्मत रहन्छ ?’, उनले प्रश्न गरे। यद्यपि, उनले छानबिन भए राम्रै हुने तर यसलाई ‘स्टन्टबाजी’ लाग्ने बताए।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ज्ञानेन्द्र शाहीले भने गृहमन्त्री गुरुङको घोषणाको स्वागत गरेका छन्। उनले सामाजिक सञ्जालमा लेख्दै दरबार हत्याकाण्डको निष्पक्ष र गहन छानबिन गर्ने प्रतिबद्धताको स्वागत गरेका हुन्। शाहीले सत्यतथ्य उजागर गर्न तत्कालीन गृहमन्त्री तथा वर्तमान राष्ट्रपति रामचन्द्र पौडेल लगायतलाई अनुसन्धानको दायरामा ल्याउन पनि अपिल गरेका छन्।
०५८ जेठ १९ गते नारायणहिटी दरबारमा भएको उक्त हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र शाहसहित राजपरिवारको वंशविनाश भएको थियो। अहिलेसम्म पनि यस घटनाको चित्तबुझ्दो सत्यतथ्य सार्वजनिक नभएको भन्दै नागरिकस्तरमा गुनासो कायमै छ। यसअघि पनि विभिन्न सरकारले यसबारे पुनः छानबिन गर्ने भने पनि प्रक्रिया अघि बढ्न सकेको थिएन।
तत्कालीन समयमा प्रधानन्यायाधीश केशवप्रसाद उपाध्याय, तत्कालीन सभामुख तारानाथ रानाभाट र एमाले नेता माधव नेपाल सम्मिलित छानबिन समिति गठन भएको थियो। तर नेपाल उक्त समितिमा बस्न मानेनन्। उपाध्याय र रानाभाट नेतृत्वको समितिले घटनामा तत्कालीन युवराजधिराज दीपेन्द्र शाह मदिराको नसामा लठ्ठिएर गोली चलाउँदा उक्त घटना हुन पुगेको निष्कर्ष निकालेको थियो।
