NM Khabar 10 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

दमक सडकको दुर्दशा: स्थानीयले धान रोपेर विरोध जनाए

• झापाको दमकमा वर्षौंदेखि जीर्ण सडकको स्तरोन्नति नहुँदा स्थानीय सडकमै धान रोपेर विरोधमा उत्रिएका छन्। • वर्षायाममा हिलाम्मे हुने सडकले आवतजावतमा कठिनाई, बिरामीलाई अस्पताल लैजान समस्या र विद्यार्थीलाई विद्यालय जान सास्ती भएको छ। • स्थानीयवासीले सडकको काम तत्काल सुरु नभए थप सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन्।
Kamala Devi
Kamala Devi
10 June 2026, 5:33 pm १ मिनेट पढाइ
आकार:
दमक सडक विरोध
Share:

झापाको दमक नगरपालिका ९ र १० को सीमा क्षेत्रमा पर्ने सडकको स्तरोन्नति नहुँदा स्थानीयवासी सडकमै धान रोपेर विरोधमा उत्रिएका छन्। वर्षाैंदेखि हिलो र खाल्डाखुल्डीले भरिएको सडकमा किसानहरू धानको बेर्ना बोकेर पुगे। उनीहरूले सडकलाई खेत मानेर धान रोप्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराए।

पटक–पटक सडक निर्माणको आवाज उठाए पनि कुनै निकायले चासो नदिएपछि बाध्य भएर सांकेतिक विरोधमा उत्रिनुपरेको स्थानीयको गुनासो छ। वर्षायाम सुरु भएसँगै सडक हिलाम्मे छ। सर्वसाधारणलाई आवतजावत गर्नसमेत कठिन भएको छ।

किसान नगेन्द्रमणि न्यौपानेले जनप्रतिनिधि चुनावमा मात्रै जनताको घरदैलोमा पुग्ने गरेको गुनासो गरे। ‘हामीले धेरै पटक यो सडक बनाउन आग्रह गर्‍यौं,’ उनले भने, ‘वडा, नगरपालिका, प्रदेश र संघीय सरकारका प्रतिनिधिलाई समेत भन्यौं । तर वर्षौं बित्दा पनि सडक उस्तै छ ।’ सडक हो कि खेत छुट्याउनै गाह्रो भएकाले विरोधस्वरूप धान रोपेको न्यौपानेले बताए।

‘बिरामीलाई अस्पताल लैजान समस्या छ। विद्यार्थीहरू हिलोमा लड्दै विद्यालय जान बाध्य छन्। विकासका भाषण धेरै सुन्यौं तर व्यवहारमा हिलो र धुलो मात्रै पायौं’ उनले भने।

सडकको समस्या नयाँ नभएको र वर्षौंदेखि स्थानीयले सास्ती भोगिरहेको सुरेश धिमाल बताउँछन्। ‘वर्षामा हिलो र हिउँदमा धुलो। सडक यति खराब छ कि मोटरसाइकल चलाउन सकिँदैन’ धिमाल भन्छन्। बालबालिका विद्यालय जाँदा लड्छन्। वृद्धवृद्धा हिँड्न सक्दैनन्। ‘हामीलाई सडक कसले बनाउँछ भन्ने चासो छैन, सडक बन्नुपर्छ भन्ने मात्रै हो’ उनी भन्छन्। जिम्मेवारी एकले अर्कामाथि थोपर्ने काम मात्रै भएको उनको गुनासो छ।

सडकले गर्दा स्थानीयको दैनिकी कष्टकर बनेको पदम भण्डारी बताउँछन्। ‘हामी वर्षौंदेखि यही बाटो प्रयोग गरिरहेका छौं। वर्षा लागेपछि घरबाट निस्कनै डर लाग्छ’ उनी सुनाउँछन्। ‘बिरामी पर्दा एम्बुलेन्स आउन सक्दैन। विद्यार्थीहरू हिलोमा लड्दै विद्यालय जान बाध्य छन्।’

जनताको धैर्यको परीक्षा धेरै भइसकेको केदार खतिवडा बताउँछन्। ‘यो सडकको समस्या एक–दुई वर्षको होइन। पटक–पटक आश्वासन पाइयो तर काम भएन’ खतिवडा भन्छन्। ‘कर तिर्ने बेला हामी नागरिक हौं, सुविधा दिने बेला कसैले सम्झिँदैन।’

जनप्रतिनिधिहरूले जनताको पीडा बुझ्नुपर्ने भेषराज थापा बताउँछन्। हिँड्न मिल्ने सडक चाहियो भन्ने सामान्य माग हो। ‘आज सडकमै धान रोप्नु हाम्रो आक्रोश मात्र होइन, राज्यप्रति गरिएको गम्भीर प्रश्न पनि हो। कहिलेसम्म जनताले यस्तै सास्ती खेप्ने?’ उनले प्रश्न गरे।

स्थानीयवासीले सडक स्तरोन्नति तथा कालोपत्रेको काम तत्काल सुरु नगरे थप सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन्।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार