NM Khabar 11 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

रौतहट प्रहरीद्वारा ९० लाखको फर्सी बिउ बरामद, स्थानीय अवरोधपछि अश्रुग्यास प्रहार

रौतहट प्रहरीले ९० लाख १६ हजार रुपैयाँ बराबरको १२,८८० किलोग्राम फर्सीको बिउ बरामद गरेको छ। सीमावर्ती क्षेत्रमा तस्करी रोक्न खोज्दा स्थानीयको अवरोध र ढुंगामुढापछि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ। घटनामा तीन स्थानीय र तीन प्रहरीसहित ६ जना सामान्य घाइते भएका छन्।
Kamala Devi
Kamala Devi
11 June 2026, 9:32 am १ मिनेट पढाइ
आकार:
फर्सीको बिउ तस्करी
Share:

रौतहट प्रहरीले सीमावर्ती क्षेत्रमा ९० लाख रुपैयाँभन्दा बढीको अवैध फर्सीको बिउ बरामद गरेको छ। भारततर्फ तस्करी गर्न तयारी अवस्थामा राखिएको बिउ प्रहरीले नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी वसन्त गौतमका अनुसार विशेष सूचनामा प्रहरीको संयुक्त टोलीले बुधबार साँझ बौधीमाई नगरपालिका–७ बंकुल टोलमा छापा मारेको थियो। सीमा नजिक त्रिपालले छोपेर लुकाइराखेको ३२२ बोरा (१२,८८० किलोग्राम) फर्सीको बिउ फेला परेको हो।

बरामद बिउको अनुमानित बजार मूल्य ९० लाख १६ हजार रुपैयाँ छ। प्रहरीले बरामद सामग्री कारबाहीका लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाएको छ।

प्रहरीले बिउ नियन्त्रणमा लिने क्रममा स्थानीयले अवरोध गर्दै ढुंगामुढा गरेपछि स्थिति तनावग्रस्त बनेको थियो। प्रहरीले ६ राउण्ड अश्रुग्यास प्रहार गरी अवस्था नियन्त्रणमा लिएको छ।

झडप र ढुंगामुढाका क्रममा तीन स्थानीय र तीन प्रहरीसहित ६ जना सामान्य घाइते भएका छन्। उनीहरूको अवस्था खतरा बाहिर छ।

जिल्ला प्रहरी प्रमुख एसपी सिताराम रिजालले सीमावर्ती क्षेत्रमा अवैध ओसारपसार नियन्त्रणका लागि निगरानी र कारबाही थप कडाइ गरिने बताए। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

करिब एक महिनाअघि भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले घोडासहन क्षेत्रमा करिब ७० लाख रुपैयाँ बराबरको फर्सीको बिउ बरामद गरेको थियो।

रौतहट र बाराका चोरनाकामार्फत चीनबाट आयात गरिएको फर्सीको बिउ भारतमा तस्करी हुने गरेको छ। पछिल्लो समय भारतमा यो बिउ स्वास्थ्यवर्द्धक खाद्य पदार्थ तथा डाइटका रूपमा लोकप्रिय छ।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार