रौतहटको गढीमाई नगरपालिका–४ सुन्दरपुर चोकमा चार दिनअघि साइकलयात्रीको ज्यान जाने गरी भएको सवारी दुर्घटनाको रहस्य प्रहरीले खोलेको छ। दुर्घटनापछि फरार रहेका टिपर चालक पक्राउ परेसँगै घटनाको वास्तविकता बाहिर आएको हो।
गत जेठ २४ गते राति करिब १ बजे प्रदेश–२–०३–००१ ख २६३३ नम्बरको टिपरले साइकलमा घर फर्किरहेका गढीमाई नगरपालिका–९ मलाहीका ३५ वर्षीय प्रमोद सहनीलाई ठक्कर दिएको थियो। दुर्घटनामा सहनीको घटनास्थलमै मृत्यु भएको थियो। चालक तत्काल सवारीसहित फरार भएका थिए।
घटनापछि स्थानीयवासी र मृतकका आफन्तले दोषी चालक र सवारी साधनलाई तत्काल पक्राउ गरी कारबाहीको माग गरेका थिए। उनीहरूले गौर–चन्द्रनिगाहपुर सडकसँग जोडिएको गरुडा बजार क्षेत्रको सहायक राजमार्ग अवरुद्ध गरी आन्दोलन गरे। प्रहरीले एक साताभित्र दोषीलाई नियन्त्रणमा लिने प्रतिबद्धता जनाएपछि आन्दोलन स्थगित भएको थियो।
इलाका प्रहरी कार्यालय गरुडाले १९ वटा टिपर र १७ भन्दा बढी चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो। अनुसन्धानकै क्रममा बृन्दावन नगरपालिका–२ निवासी २४ वर्षीय अब्दुल एजाज पक्राउ परे।
इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी शंकर प्रसाद आचार्यका अनुसार एजाजले प्रमोद सहनीलाई आफूले चलाएको टिपरले ठक्कर दिएको स्वीकार गरेका छन्। प्रहरीका अनुसार एजाज शिवम् क्रसर उद्योगबाट ढुङ्गा बोकेर गरुडातर्फ जाँदै थिए। साइकलमा सवार सहनीलाई ठक्कर दिएपछि उनी घटनास्थलबाट भागेका थिए।
पक्राउ परेका चालकविरुद्ध सवारी ज्यान सम्बन्धी कसुरमा थप अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। चार दिनसम्म अन्योलमा रहेको घटनाले चालक पक्राउ परेसँगै स्पष्टता पाएको छ।
