कृषि सामग्री कम्पनी लिमिटेडका विभिन्न जिल्लास्थित गोदामहरूमा ९ करोड ८२ लाख ३५ हजार ४५० किलो रासायनिक मल थन्किएको छ। कृषि, वन तथा पर्यावरण मन्त्रालयका अनुसार देशभरका वितरण व्यवस्था महाशाखाहरूमा यो मल मौज्दात छ। पर्याप्त मल मौज्दात रहेको सरकारी दाबीविपरीत ग्रामीण भेगका किसानहरूले मलको अभाव झेलिरहेका छन्।
जिल्ला शाखा कार्यालयहरूमा मल थुप्रिएर किसानसम्म नपुग्नुले वितरण प्रणालीको कमजोरी स्पष्ट पार्छ। कोसी प्रदेशका शाखा कार्यालयहरूमा एक करोड १९ लाख ५४ हजार ५०० केजी युरिया, २० लाख ९२ हजार ६०० केजी डीएपी र ३२ लाख ४८ हजार ८५० केजी पोटास मल मौज्दात छ। तर, यी कार्यालयहरूबाट मल उठ्न सकेको छैन।
मधेस प्रदेशको अवस्था पनि उस्तै छ। यहाँका विभिन्न शाखा कार्यालयहरूमा ३ करोड ११ लाख ३१ हजार २०० केजी युरिया, एक करोड १४ लाख ५६ हजार २०० केजी डीएपी र ५५ लाख ८४ हजार ६०० केजी पोटास मल मौज्दात छ। यस प्रदेशमा पनि मल उठ्न सकेको छैन।
वाग्मती प्रदेशमा ४० लाख ९३ हजार ३०० केजी युरिया, पाँच लाख ९९ हजार १५० केजी डीएपी र दुई लाख ५१ हजार ७५० केजी पोटास मौज्दात छ। गण्डकी प्रदेशका जिल्ला शाखाहरूमा चार लाख ६ हजार ६५० केजी युरिया, एक लाख ३० हजार ८०० केजी डीएपी र ६१ हजार ८०० केजी पोटास मौज्दात छ। यी प्रदेशहरूबाट पनि मल उठ्न सकेको छैन।
लुम्बिनी प्रदेशका जिल्ला कार्यालयहरूमा एक करोड ५० लाख ३५ हजार ८५० केजी युरिया, ४६ लाख ४३ हजार ९०० केजी डीएपी र ४४ लाख १२ हजार ४०० केजी पोटास मौज्दात छ। कर्णाली प्रदेशका कृषि कम्पनीका जिल्ला शाखामा दुई लाख १२ हजार २५० केजी युरिया, ७४ हजार ६५० केजी डीएपी र ४८ हजार ९५० केजी पोटास मौज्दात छ। सुदूरपश्चिम प्रदेशस्थित कृषि कम्पनीका जिल्ला शाखामा २४ लाख ५४ हजार १०० केजी युरिया, दुई लाख ९३ हजार २५० केजी डीएपी र चार लाख २३ हजार २०० केजी पोटास मौज्दात छ। यी प्रदेशहरूमा पनि मल वितरण हुन सकेको छैन।
केन्द्रले मल पठाए पनि शाखा कार्यालयहरूबाट उठ्न नसक्दा किसानहरूले समयमै मल प्राप्त गर्न सकेका छैनन्। यसले खेतीको समयमा किसानहरूले सास्ती खेप्नुपरेको छ।
