चालु आर्थिक वर्षको ११ महिनामा लुम्बिनी प्रदेशमा ४,६२४ सवारी दुर्घटना भएका छन्। यी दुर्घटनामा ५३६ जनाको मृत्यु भएको छ भने ७,७६७ जना घाइते भएका छन्। अंगभंग भएका घाइते अझै अस्पतालमा उपचाररत छन्।
गत आर्थिक वर्ष २०८१/८२ मा ३,४७९ दुर्घटनामा ५०६ जनाको मृत्यु भएको थियो। त्यसअघिको आर्थिक वर्ष २०८०/८१ मा १,१२० दुर्घटनामा ४९६ जनाको मृत्यु भएको थियो। पछिल्ला तीन वर्षमा ९,२२३ दुर्घटनामा १,५३८ जनाको मृत्यु भएको छ।
प्रहरी निरीक्षक रुद्र गिरीका अनुसार अधिकांश दुर्घटना मानवीय त्रुटिबाट भएका हुन्। चालकको लापरबाही, तीव्र गति, ओभरलोड, ओभरटेक, लेनको गलत प्रयोग, मापसे र लापसे प्रमुख कारण हुन्। अनुभवी चालक विदेशिने क्रमले कच्ची सडकमा अनुभवहीन चालकबाट दुर्घटना बढेको छ।
इन्जिनियरिङ अध्ययनबिना बनेका कच्ची सडक, यान्त्रिक ज्ञान नभएका चालक, परिमार्जित सवारी साधन र सवारीलाई आम्दानीको साधन मात्र ठान्ने प्रवृत्तिले दुर्घटना बढाएको छ। गाडीको यान्त्रिक अवस्था, जथाभावी सडक काट्ने पैदलयात्रु र छाडा चौपाया पनि दुर्घटनाका कारण हुन्।
सबैभन्दा धेरै दुर्घटना रुपन्देहीमा ८०२ वटा भएका छन्। बाँकेमा ५७७, बर्दियामा ४८२, कपिलवस्तुमा ४६३, पश्चिम नवलपरासीमा ३७८ र दाङमा ३६२ दुर्घटना भएका छन्।
सबैभन्दा बढी ३,९३३ मोटरसाइकल दुर्घटनामा परेका छन्। जिप, कार र भ्यान ६०८, बस १८२, माइक्रो १०८ र टिप्पर ९४ वटा दुर्घटनामा परेका छन्।
लुम्बिनी प्रदेश राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुख प्रहरी उपरीक्षक निशान थापाले ट्राफिक प्रहरीको एकल प्रयासले दुर्घटना न्यूनीकरण सम्भव नभएको बताए। सडक मर्मत, सिसिटिभी जडान र सवारी यान्त्रिक परीक्षणमा सम्बन्धित निकायको सक्रियता आवश्यक छ।
जनचेतना अभिवृद्धि, नियमित जाँच, लामो दूरीमा दुई चालक अनिवार्य, ‘नो हर्न’ अभियान, चालक स्वास्थ्य परीक्षण र मापसे–लापसे जाँचजस्ता कार्यक्रम सञ्चालन भइरहेका छन्। अन्तरक्रिया, छलफल र सूचनामूलक सन्देश प्रवाहका कार्यक्रम पनि भइरहेका छन्।
