अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनियोजन विधेयकबारे विस्तृत अध्ययन गरेर मात्र टिप्पणी गर्न सांसदहरूलाई आग्रह गरेका छन्। शुक्रबार प्रतिनिधिसभामा बजेटमाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले केही सांसदहरूले विधेयकको ‘पातलो पुस्तिका’ प्राप्त नगरेको जस्तो देखिएको र समग्र बजेट विनियोजन तथा प्रस्तुत विवरण सुनेर मात्र धारणा बनाएको जस्तो लागेको बताए।
उनले आदिवासी जनजातिका लागि छुट्याइएको बजेटबारे उठेका प्रश्नको जवाफ दिँदै अनुसूची–२ मा स्पष्ट रूपमा विवरण उल्लेख गरिएको बताए। ‘दस्तावेजमै हेरेर छलफल भएको भए बहस अझ केन्द्रित हुन्थ्यो,’ उनले भने।
अर्थमन्त्री वाग्लेले आगामी दिनमा मन्त्रालयगत छलफलमा शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, खानेपानी लगायतका क्षेत्रमा सम्बन्धित मन्त्रीहरूको उपस्थितिमा विस्तृत छलफल हुने बताए। सांसदहरूले आफ्ना सुझाव र चासो त्यहीँ राख्न सक्ने उनको भनाइ छ।
थाहाखबरका अनुसार, अर्थमन्त्री वाग्लेले सांसदहरूले विनियोजन विधेयक नपढी सुनेका भरमा टिप्पणी गरेको भन्दै व्यंग्य गरेका हुन्। ‘पातलै छ यसो हेरेर आउनु भएको भए अलि डिस्कसन केन्द्रित हुन सक्थ्यो,’ उनले विपक्षी सांसदलाई सम्बोधन गर्दै भने।
बजेटमा करका दर हेरफेर गरेको भन्दै विपक्षी दलको आलोचना भइरहेका बेला वाग्लेले सांसदहरूको योग्यतामाथि प्रश्न उठाउँदै भने, ‘सैद्धान्तिक धरातलबारे अलिक उन्नत बुझाइ भयो भने बजेटको दर्शन बुझ्न सकिन्छ कि जस्तो मलाई लाग्छ।’
