शिक्षा तथा खेलकुद मन्त्रालयले नक्कली कागजात प्रयोग गरी अध्ययन भिसा सिफारिस प्रकरणमा कर्मचारीको संलग्नतामाथि छानबिन सुरु गरेको छ। मन्त्रिस्तरीय निर्णयअनुसार तीन सदस्यीय समिति गठन गरिएको हो।
सहसचिव चन्द्रकान्त भुसाल संयोजक रहेको समितिमा उपसचिव (कानुन) गोपीकृष्ण रेग्मी र शाखा अधिकृत गुणराज भट्टराई सदस्य छन्। समितिले घटनासँग सम्बन्धित मन्त्रालयका कर्मचारीहरूको भूमिका, जिम्मेवारी र संलग्नताको अनुसन्धान गर्नेछ।
वाल्मीकि विद्यापीठको नाममा अध्ययन भिसा सिफारिसका लागि पेस गरिएका पत्र तथा कागजात नक्कली पाइएपछि यो छानबिन प्रक्रिया अघि बढेको हो। यस आधारमा यसअघि सिफारिस गरिएका विदेशी नागरिकहरूको भिसा प्रक्रिया रोक्न सम्बन्धित निकायलाई मन्त्रालयले अनुरोध गरिसकेको छ।
समितिले प्रक्रियागत कमजोरी, कागजात प्रमाणीकरणको अवस्था र कर्मचारीहरूको संलग्नताको समेत अध्ययन गर्नेछ। यसअघि शंकास्पद कागजात र नक्कली रसिद प्रयोग भएको आशंकामा मन्त्रालयले गृह मन्त्रालयलाई पत्राचार गरेको थियो।
मन्त्रालयले अध्ययन भिसा प्रणालीको विश्वसनीयतासँग जोडिएको यस घटनालाई गम्भीरतापूर्वक लिई छानबिन निष्कर्षका आधारमा आवश्यक प्रशासनिक र कानुनी कारबाही गर्ने जनाएको छ।
