विपद् व्यवस्थापनका नीति राम्रा भए पनि कार्यान्वयन पक्ष फितलो रहेको नेपाली कांग्रेसका सभापति गगन थापाले औंल्याएका छन्। शुक्रबार ‘द ग्रिन टेबल’ कार्यक्रममा बोल्दै उनले नीति कार्यान्वयनमा राजनीतिक नेतृत्वको बुझाइमा समस्या रहेको बताए।
थापाले भने, ‘विपद् व्यवस्थापनका लागि हामीसँग राम्रा नीतिहरू छन्। तर किन कार्यान्वयन भएन भन्ने विषयमा कार्यान्वयन गर्ने ठाउँमा रहेको राजनीतिक नेतृत्वको नियतमाथि शंका गरेको होइन, तर बुझाइको सन्दर्भमा कहीं न कहीं समस्या छ।’
कांग्रेसले भविष्यका जनप्रतिनिधिलाई सक्षम बनाउन ‘लिडरसिप एकेडेमी’ निर्माण गरिरहेको छ। यसको पाठ्यक्रममा विपद् व्यवस्थापनसम्बन्धी अध्ययन समावेश गरिनेछ।
‘त्यसैले हामीले गर्न खोजेको लिडरसिप एकेडेमी अहिले बनाइरहेका छौं। त्यसको कोर्ष विकास गरिरहेका छौं। त्यसमा भविष्यमा पालिका प्रमुख बन्ने व्यक्तिका लागि तयार गरिने कोर्षमा विपद् व्यवस्थापनसम्बन्धी निश्चित क्रेडिट आवर पनि राखेका छौं। जसले गर्दा भोलि मेयर वा वडाध्यक्षको जिम्मेवारीमा पुग्ने व्यक्तिले विपद्को विषयमा राम्रो ज्ञान हासिल गर्न सकून्,’ उनले भने।
करिब ६.५ लाखदेखि ७ लाखसम्म कांग्रेसका दर्ता सदस्य छन्। प्रक्रिया पूरा हुँदा यो संख्या ९ लाखसम्म पुग्न सक्छ। थापाका अनुसार, यो संख्याले पार्टीलाई विपद् जोखिम न्यूनीकरण र जनचेतना अभिवृद्धिमा ठूलो भूमिका खेल्ने अवसर दिन्छ।
