भारत–नेपालबीच सञ्चालनमा रहेका सीमापार रेलमार्ग परियोजनाको प्रगति काठमाडौंमा उच्चस्तरीय बैठकमा समीक्षा गरिएको छ। जेठ २८ र २९ गते आयोजित १०औँ परियोजना निर्देशक समिति (पीएससी) र ८औँ संयुक्त कार्यदल (जेडब्ल्युजी) को बैठकले कार्यान्वयन अवस्था, निर्माण प्रगति र आगामी कार्ययोजनाबारे विस्तृत छलफल गर्यो।
दुई देशका प्रतिनिधिमण्डलले सीमापार रेल सञ्जाल विस्तारले नेपाल–भारतबीचको व्यापार, आवागमन, पर्यटन तथा जनस्तरको सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरे। बैठकमा रेल पूर्वाधार विकास, प्राविधिक सहकार्य र भविष्यका सम्भावित परियोजनाबारे समेत विचार–विमर्श भएको थियो।
नेपाल र भारतबीच जयनगर–कुर्था–बिजलपुरा रेलमार्ग सञ्चालनमा आइसकेको छ। थप सीमापार रेल सम्पर्क परियोजनाहरू कार्यान्वयनको विभिन्न चरणमा छन्। यी परियोजनाले दुई देशबीचको भौतिक पूर्वाधार सञ्जाल विस्तारसँगै आर्थिक साझेदारीलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।
