भारतले नेपाली चिया आयातमा कडाइ गरेपछि इलामको सूर्योदय क्षेत्रका ५३ चिया उद्योग असार १ गतेदेखि बन्द हुने भएका छन्। सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसन नेपालले यो घोषणा गरेको हो।
भारतीय बजारमा पुगेको तीन लाख किलोभन्दा बढी नेपाली चिया गुणस्तर परीक्षणका नाममा अलपत्र छ। उद्योगमा सात लाख किलोभन्दा बढी तयारी चिया थन्किएको छ। भण्डारण क्षमता भरिएपछि उद्योग सञ्चालन गर्न नसकिएको एसोसिएसन अध्यक्ष डिल्ली श्रेष्ठले बताए। “किसानलाई भुक्तानी रोक्न मिल्दैन, त्यसैले उद्योग बन्द गर्नुबाहेक विकल्प रहेन,” श्रेष्ठले भने।
भारतले सन् २०२६ मे १ देखि नेपालबाट आयात हुने चियामा ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्युर’ (एसओपी) लागू गरेको छ। यसअनुसार प्रत्येक गाडीको चिया छुट्टाछुट्टै परीक्षण गर्नुपर्छ। प्रतिवेदन आउन २० दिनभन्दा बढी लाग्छ। नतिजा नआएसम्म बिक्री गर्न पाइँदैन। परीक्षणमा असफल भए चिया नष्ट गर्नुपर्छ वा फिर्ता ल्याउनुपर्छ।
“उत्पादन भएको चिया बजारमा पुर्याउने बाटो बन्दजस्तै भएको छ,” उद्योगी गोपाल कट्टेलले भने। “भारतले प्राविधिक झन्झट सृजना गरेर नेपाली चिया रोकेपछि उद्योग सञ्चालन गर्न सक्ने अवस्था रहेन।” कट्टेलले सङ्घीय सरकारले कूटनीतिक पहल गरेर निर्यात सहजीकरण गर्नुपर्ने बताए। “अवरोध हटाउन पहल नभए अर्बौँ रुपैयाँको नेपाली चियाको बजार गुम्ने खतरा छ,” उनले भने।
उद्योग बन्द हुँदा हजारौँ किसान प्रभावित हुनेछन्। सूर्योदय नगरपालिकामा दुई हजार ९९५ चिया किसान छन्। यहाँ ३३ हजार ६५५ रोपनी क्षेत्रफलमा चिया खेती हुन्छ। वार्षिक दुई करोड किलो हरियो पत्ती उत्पादन हुन्छ। “उद्योग बन्द भयो भने आम्दानी रोकिन्छ, परिवार कसरी चलाउने? हाम्रो त रोजिरोटी हराउँछ,” किसान राजन भट्टराईले चिन्ता व्यक्त गरे।
सूर्योदय नगरपालिकाले भारतीय अवरोध खुला गर्न तत्काल उच्चस्तरीय कूटनीतिक पहलका लागि परराष्ट्र मन्त्रालयसँग माग गरेको छ। कोलकाता पुगेका नेपाली चियाका ‘कन्साइनमेन्ट’माथि भारतीय चिया बोर्डले गोदाममै प्रवेश गरी नमुना सङ्कलन र परीक्षण गरेको छ। आधा दर्जनभन्दा बढी ट्रकबाट नमुना सङ्कलन भएको एक साता बितिसक्दा पनि प्रयोगशालाको प्रतिवेदन प्राप्त भएको छैन। प्रतिवेदनबेगर बिक्री–वितरण पूर्ण रोक लगाइएको छ।
सूर्योदय नगरपालिकाका कार्यवाहक प्रमुख दुर्गाकुमार बरालले भने, “झन्झटिलो प्रक्रियाले गुणस्तरीय नेपाली चिया भारतीय गोदाममै थन्किएर गुणस्तर ह्रास हुने जोखिम छ। भारतीय अवरोध हटाउन नेपाल सरकारले उच्चस्तरीय कूटनीतिक पहल गर्नुपर्छ।”
राष्ट्रिय चिया तथा कफी विकास बोर्डका नवीन कोइरालाका अनुसार नेपालबाट बर्सेनि ७० लाख किलोभन्दा बढी अर्थोडक्स तयारी चिया निर्यात हुन्छ। यसको ९० प्रतिशतभन्दा बढी भारतीय बजारमा जान्छ। वार्षिक सवा चार अर्ब रुपैयाँभन्दा बढीको तयारी चिया निर्यात हुने नेपालमा अर्थोडक्स चिया मुख्यतः इलाम, पाँचथर र धनकुटामा उत्पादन हुन्छ।
