विराटनगर। भारतले वैशाख ३० गते चिनी निर्यातमा प्रतिबन्ध लगाएको भोलिपल्टै नेपालमा चिनीको मूल्य प्रतिकिलो २ रुपैयाँले बढेको छ। वैशाख ३० गतेसम्म ७६-७७ रुपैयाँ (भ्याटबाहेक) रहेको चिनीको मूल्य, वैशाख ३१ गतेदेखि ७८-७९ रुपैयाँ पुर्याइएको छ। नगदमा खरिद गर्नेलाई ७८ र उधारोमा खरिद गर्नेलाई ७९ रुपैयाँ मूल्य कायम गरिएको छ।
उद्योगीहरूले आयातकर्ताले मूल्य बढाउँदा आफूहरू पनि बाध्य भएर मूल्य बढाउनुपरेको आरोप लगाएका छन्। यस मूल्यवृद्धिको होडबाजीले अन्ततः उपभोक्ता ठगिने अवस्थामा पुगेका छन्।
भारतको निर्यात प्रतिबन्धको असर नेपाली बजारमा देखिए पनि सरकारले यस विषयमा कुनै चासो देखाएको छैन। उद्योगी र आयातकर्ताबीचको आरोप-प्रत्यारोपले खुद्रा बजारमा उपभोक्ताले प्रतिकिलो २ रुपैयाँ बढी तिर्नुपरेको छ।
