परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चार दिवसीय भ्रमणका लागि बेइजिङ प्रस्थान गरेका छन्।
परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनालले चीनमा रहँदा आफ्ना समकक्षी वाङ यीसँग नेपाल–चीन सम्बन्ध सुदृढ बनाउने र आपसी सहकार्यलाई अझ सबल पार्ने विषयमा द्विपक्षीय वार्ता गर्नेछन्। उनले चीनका उच्च अधिकारीहरूसँग पनि छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ।
यस भ्रमणको एक प्रमुख उद्देश्य मुलुकमा वैदेशिक लगानी भित्र्याउनु हो। मन्त्री खनालले बेइजिङस्थित नेपाली दूतावासद्वारा आयोजित लगानी सम्मेलनमा सहभागी भई चिनियाँ उद्यमी व्यवसायीहरूसँग छलफल गर्नेछन्।
दूतावासले परराष्ट्रमन्त्री खनालको सम्मानमा एक स्वागत समारोह आयोजना गर्नेछ। समारोहमा मन्त्रीले चीनमा रहेका नेपाली समुदायसँग अन्तरक्रिया गर्नेछन्।
परराष्ट्रमन्त्री खनाल आगामी असार ३ गते स्वदेश फर्किने तालिका छ।
