रौतहटको कटहरिया नगरपालिका-४ बहादुरपुर गाउँ भएर ट्याक्टरमार्फत माटो ढुवानीमा वडा कार्यालयले रोक लगाएको छ। गाउँभित्रको सडक प्रयोग गरी माटो ओसारपसार गर्दा अत्यधिक धुलो उडेर वातावरण प्रदूषित भएको र स्थानीय बासिन्दाको जनजीवन प्रभावित भएपछि यो निर्णय गरिएको हो।
वडा अध्यक्ष चन्दन कुशवाहाका अनुसार लालबकैया नदीको किनारबाट निर्माण तथा भरण कार्यका लागि माटो ढुवानी बढेको छ। यसले गर्दा सडक आसपासका बस्तीमा धुलोको मात्रा बढेको, सर्वसाधारणको स्वास्थ्यमा प्रतिकूल असर परेको र दैनिक आवतजावतमा समेत समस्या सिर्जना भएको गुनासो आएको छ।
स्थानीयवासीको स्वास्थ्य, स्वच्छ वातावरण र सार्वजनिक हितलाई ध्यानमा राखी बहादुरपुर गाउँ भएर माटो ढुवानी नगर्न सम्बन्धित व्यक्ति तथा व्यवसायीलाई वडा कार्यालयले अनुरोध गरेको छ। यो कदमलाई वातावरण संरक्षण र जनस्वास्थ्यप्रतिको जिम्मेवार पहलका रूपमा हेरिएको छ।
स्थानीय बासिन्दाले धुलो प्रदूषण नियन्त्रणका लागि सबै पक्षले नियम पालना गर्नुपर्ने माग गरेका छन्। वडा कार्यालयले सूचनाको पालना गर्न आग्रह गर्दै अटेर गरेमा आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया अघि बढाउने संकेत दिएको छ। यसअघि वडा अध्यक्ष कुशवाहाको पहलमा स्थानीय युवाहरूले सडकको धुलो, हिलो सफाइ गरेका थिए।
