भङ्गहा नगरपालिकाका बाढीपीडित ७३ परिवारले आज नयाँ घर पाएका छन्। गत असोजमा रातो खोलामा आएको बाढीले घरबारविहीन बनाएका दलित, गरीब र अतिविपन्न परिवारलाई एकीकृत सामुदायिक विकास परियोजनाअन्तर्गत आवास निर्माण गरिएको हो।
गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा साझेदार संस्था दलित समाज उत्थान समिति नेपालले निर्माण सामग्री सहयोग गरी घर बनाइदिएको छ। भङ्गहा-४ स्थित थारुटोलमा आयोजित कार्यक्रममा नगरप्रमुख सञ्जीवकुमार साहलाई गुड नेवर्सका प्रतिनिधि टुपेन्द्र खुलाल र दलित समाजका प्रतिनिधि रामभजन महतोले घरको प्रमाणपत्र हस्तान्तरण गरे।
भङ्गहा-१ मा एक, वडा नं २ मा तीन, वडा नं ३ मा आठ, वडा नं ४ मा १२, वडा नं ५ मा आठ, वडा नं ६ मा १२, वडा नं ७ मा आठ, वडा नं ८ मा पाँच र वडा नं ९ मा १६ वटा घर निर्माण भएका छन्। कुल रु एक करोड एक लाख ७१ हजार ५७४ को लागतमा बनेका यी घरबाट ३७५ जना प्रत्यक्ष लाभान्वित भएको परियोजनाले जनाएको छ।
नगरप्रमुख साहले बाढीपीडितलाई सहयोग गर्ने संस्थाप्रति आभार व्यक्त गरे। उनले पालिकाभित्र शिक्षा, स्वास्थ्य, सरसफाइ, बालअधिकार र आयआर्जनजस्ता क्षेत्रमा संस्थाले पुर्याएको सहयोगको प्रशंसा गरे।
