NM Khabar 15 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

जनभावना समेट्दै विधेयक निर्माण: कानुनमन्त्री गौतमको निर्देशन

कानुनमन्त्री सोविता गौतमले आगामी आर्थिक वर्षका लागि विधेयक निर्माणमा जनभावना समेट्न जोड दिएकी छन्। शिक्षा र पूर्वाधार विकास मन्त्रालयका मन्त्रीहरूसँग विधेयकको सूची निर्माणबारे छलफल भएको छ। समयसीमाभित्र विधेयकहरू संसदमा पेस गर्नुपर्ने र समयानुकूल कानून बनाउनुपर्नेमा जोड दिइएको छ।
Laxmi Bhattarai
Laxmi Bhattarai
15 June 2026, 8:18 pm १ मिनेट पढाइ
आकार:
विधेयक निर्माण प्रक्रिया
Share:

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले नयाँ सोच र अवधारणालाई कानूनमा रूपान्तरण गर्नुपर्ने आवश्यकता औँल्याएकी छन्। सोमबार पूर्वाधार विकास मन्त्रालय र शिक्षा तथा खेलकुद मन्त्रालयसँग आगामी आर्थिक वर्षमा सदनमा पेस गर्नुपर्ने विधेयकहरूको सूची निर्माणबारे छलफल गर्दै मन्त्री गौतमले पछिल्लो परिवर्तनको भावना र सोचअनुरुप विधेयकहरू समयमै निर्माण गरी पठाउन आग्रह गरिन्।

मन्त्री गौतमले विधायन ऐनअनुसार आगामी असार मसान्तभित्र संसदमा पेस गरिने विधेयकहरूको सूची बुझाउनुपर्ने भएकाले समयमै कानून निर्माण कार्य व्यवस्थित रूपमा अगाडि बढाउन जोड दिइन्। उनले शिक्षा मन्त्रालयबाट प्रस्तावित विधेयकले मन्त्रालयको दीर्घकालीन योजना पूरा गर्छ कि गर्दैन भन्ने स्पष्टता आवश्यक रहेको उल्लेख गर्दै आवश्यक संशोधन वा थप विषय समावेश गर्नुपर्ने भए प्राथमिकता सूची बुझाउन आग्रह गरिन्। संसदमा प्रस्तुत गरिने विषयवस्तुमा सबै मन्त्रालयबीच समन्वय र समान बुझाइ आवश्यक रहेको उनको भनाइ थियो।

छलफलमा शिक्षा मन्त्री सस्मित पोख्रेलले दीर्घकालीन र दिगो हुने गरी कानून निर्माण गर्नुपर्नेमा जोड दिँदै हालको कानूनले आधुनिक शिक्षाको आवश्यकतालाई पर्याप्त रूपमा सम्बोधन गर्न नसकेको बताए। उनले समयानुकूल र पछिल्लो पुस्ताको आवाज सम्बोधन हुनेगरी विधेयकको मस्यौदा गर्ने प्रतिबद्धता जनाए।

त्यसैगरी पूर्वाधार विकास मन्त्रालयसँग भएको छलफलमा मन्त्री सुनिल लम्सालले अन्तर–मन्त्रालयगत विषयहरूमा स्पष्टता ल्याइने र सम्बन्धित मन्त्रालयहरूसँग समन्वय गरी प्रभावकारी कानून निर्माण गर्ने प्रतिबद्धता जनाए। मन्त्रालयको कार्यक्षेत्र विस्तार भएकाले सोअनुसार कानून तथा नीतिगत तयारीलाई अघि बढाउनुपर्नेमा छलफल केन्द्रित भएको थियो।

यसअघि कानुनमन्त्री गौतमले महिला, भूमि, पर्यटन र वन मन्त्रालयसँग विधेयकको प्राथमिकीकरण र समयमसीमा भित्र आउन सक्ने विधेयकको सूचीबारे छलफल गरेकी थिइन्। ती मन्त्रालयका मन्त्रीहरूले पनि समयसीमाभित्र आवश्यक विधेयकको मस्यौदा तयार गरी पठाउने प्रतिबद्धता जनाएका छन्।

कानुन मन्त्री गौतमले सरकारको सय बुँदे कार्ययोजनाअनुसार सेवा प्रवाहलाई चुस्त बनाउन आवश्यक कानुनहरुको निर्माण तथा भएका कानुनमा सशोधनका लागि विधेयकहरु निर्माण गर्न अन्तर मन्त्रालय छलफल गरिरहेकी छन्।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार