अमेरिकाको नेशनल ओसियानिक एण्ड एटमसफेरिक एडमिनिस्ट्रेसन (NOAA) ले यस वर्ष शक्तिशाली ‘सुपर एलिनिनो’ विकसित हुने सम्भावना औंल्याएको छ। यसले विश्वव्यापी मौसम प्रणालीमा परिवर्तन ल्याई पृथ्वीको तापक्रम अझ बढाउने आकलन गरिएको छ।
एलिनिनो प्रशान्त महासागरको समुद्री पानी असामान्य रूपले तातो हुने प्राकृतिक मौसमी घटना हो। यस पटकको एलिनिनो सन् १९५० यताकै सबैभन्दा ठूला मध्ये पर्ने सम्भावना ६३ प्रतिशत रहेको NOAA को क्लाइमेट प्रिडिक्सन सेन्टरले जनाएको छ। यो शरद ऋतुसम्म रहने र जाडोमा पनि जारी रहने सम्भावना १०० प्रतिशत छ।
सुपर एलिनिनोका लागि उष्णकटिबन्धीय प्रशान्त महासागरको पानीको तापक्रम औसतभन्दा २ डिग्री सेल्सियसभन्दा बढी हुनुपर्छ। केही कम्प्युटर मोडेलहरूले यो सीमा निकै माथि पुग्ने संकेत दिएका छन्। पश्चिमी प्रशान्तबाट पूर्वी प्रशान्ततर्फ सरेको तातो पानी अहिले सतहतिर उक्लिन थालेको छ।
सन् २०१५–१६, १९९७–९८ र १९८२–८३ मा देखिएका शक्तिशाली एलिनिनोहरूमा पनि यस्तै प्रक्रिया थियो। सुपर एलिनिनो तुलनात्मक रूपमा दुर्लभ घटना हो।
महासागरबाट वायुमण्डलमा ठूलो मात्रामा ताप ऊर्जा सर्ने भएकाले एलिनिनोले विश्वको जलवायुमा प्रभाव पार्छ। जीवाश्म इन्धनबाट उत्पन्न तापवृद्धिसँगै एलिनिनोले थप ताप बढाउँदा सन् २०२७ पृथ्वीको अहिलेसम्मकै सबैभन्दा तातो वर्ष बन्न सक्ने सम्भावना छ।
एलिनिनोले विभिन्न क्षेत्रमा तातोलहर, बाढी र खडेरी जस्ता चरम मौसमी घटनाहरूको सम्भावना बढाउँछ। यसको प्रभाव स्थानअनुसार फरक हुन्छ। मध्य तथा पूर्वी प्रशान्त क्षेत्रमा आँधीबेहरी बढ्ने, उत्तरी अमेरिकामा न्यानो जाडो हुने, दक्षिणी अमेरिकामा बढी वर्षा हुने अनुमान छ।
त्यस्तै, अस्ट्रेलिया र इन्डोनेसियामा बाढी, गर्मी र तापलहर बढ्ने, डढेलो र खडेरी निम्तिने सम्भावना छ। भारत तथा दक्षिण-पूर्वी एसियामा मनसुनी वर्षा कम भई गर्मी चर्किनेछ।
एलिनिनोले समुद्री तापलहर बढाएर प्रवाल भित्ताहरू नष्ट गर्ने जोखिम पनि बढाउँछ। शक्तिशाली एलिनिनोले प्राकृतिक विपत्ति र खाद्य संकट ल्याई आर्थिक वृद्धिदर घटाउन सक्ने अध्ययनहरूले देखाएका छन्।
जलवायु परिवर्तनका कारण पृथ्वीको तापक्रम पहिले नै बढेको अवस्थामा यो सुपर एलिनिनो आउनुले यससँग सम्बन्धित चरम मौसमी घटनाहरूको तीव्रताबारे थप अनिश्चितता थपेको छ।
