अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेटले मुलुकको अर्थतन्त्र सुधारको जग बसालेको दाबी गरेका छन्।
नेपाल चेम्बर अफ कमर्शको बुधबारको कार्यक्रममा मन्त्री वाग्लेले बजेटले अर्थतन्त्र सुधारको जग बसालेको बताए। उनले वर्तमान सरकारको दोस्रो र तेस्रो वर्षमा सुधारका कार्यहरू तीव्र पारिने उल्लेख गरे।
वाग्लेले चौथो र पाँचौँ वर्षको बजेट सुधारभन्दा आर्थिक राजकाजको दिशा मोड्नमा केन्द्रित हुने बताए। आगामी पाँच वर्षभित्र आर्थिक क्षेत्र रूपान्तरण हुनेछ। त्यसको परिणाम जनताले महसुस गर्नेछन्।
निजी क्षेत्र उत्साहित नभई अर्थतन्त्र अगाडि बढ्दैन। मन्त्री वाग्लेले निजी क्षेत्रलाई प्रोत्साहन गर्न कर तथा नीतिगत सुधारका कार्यक्रम ल्याएको स्पष्ट पारे। अर्थतन्त्र सुधारका लागि बजेट कुर्नु पर्दैन। आवश्यक परे मन्त्रालय वा मन्त्रिपरिषद्बाट नीतिगत निर्णय हुनेछ।
अर्थमन्त्री वाग्लेले निजी क्षेत्रका जायज माग र सुझाव ग्रहण गर्न सरकार तयार रहेको बताए।
कार्यक्रममा चेम्बर अध्यक्ष कमलेश अग्रवालले कोरोना महामारीपछि अर्थतन्त्र कुशल व्यवस्थापन हुन नसक्दा सबै क्षेत्र प्रभावित भएको बताए। बैंकमा लगानीयोग्य पैसा छ, तर निजी क्षेत्र आकर्षित छैन। यसको कारण राज्यले गम्भीरतापूर्वक सोच्नुपर्छ।
अध्यक्ष अग्रवालले सरकारले एमआरपी लागू गरेपछि व्यापार क्षेत्रमा असुविधा बढेको गुनासो गरे।
