नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) ले चिया निर्यातमा देखिएको भारतीय अवरोध हटाउन तत्काल कूटनीतिक पहल गर्न सरकारसँग आग्रह गरेको छ। महासंघले बुधबार जारी विज्ञप्तिमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई ठोस कदम चाल्न माग गरेको हो।
विज्ञप्तिमा भनिएको छ, ‘चिया क्षेत्रमा आश्रित हजारौं किसान, मजदूर र उद्यमीहरूको भविष्यसँग जोडिएको यस संवेदनशील विषयलाई सरकारले उच्च प्राथमिकतामा राखी तत्काल कूटनीतिक ढंगबाट निकास निकाल्न महासंघ सरकारसँग आग्रह गर्दछ।’
भारतीय चिया बोर्डले गत मे १ देखि नेपाली चियाको आयातमा अवरोध खडा गरेको छ। यस अवरोधले झापा र इलामका चिया किसान तथा हजारौं श्रमिकहरूको दैनिक आयमा प्रत्यक्ष असर पारेको छ। उनीहरूको उत्पादन बजारसम्म पुग्न नसक्दा ठूलो आर्थिक क्षति बेहोर्नुपर्ने अवस्था सिर्जना भएको छ।
महासंघले यस विषयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवलाई भेटेर ध्यानाकर्षण गराइसकेको छ। मन्त्रालयले भारतीय पक्षसँग समन्वय गरी समस्या समाधानका लागि पहल गर्ने आश्वासन दिएको छ।
