कपिलवस्तुका नेपाली कांग्रेस सांसद अभिषेकप्रताप साहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। उनीमाथि कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष सीताराम शर्मामाथि आक्रमण गरेको आरोप छ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी डीएसपी रिपेन्द्रकुमार सिंहका अनुसार सांसद साहविरुद्ध जिल्ला अदालत कपिलवस्तुले बिहीबार पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो।
पीडित शर्माले दिएको जाहेरीका आधारमा मुद्दा दर्ता भएको हो। शर्माले सांसद साह र कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजतप्रताप साहसहित १५–२० जनाको समूह आफ्नो निवासमा प्रवेश गरी कुटपिट गरेको दाबी गरेका छन्।
यसअघि आक्रमणमा संलग्न व्यक्तिविरुद्ध जाहेरी दिन जाँदा प्रहरीले आलटाल गरेको पीडित पक्षको गुनासो थियो।
