NM Khabar 26 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

गण्डकी सरकारबाट एमाले बाहिरिने, नयाँ गठबन्धनको सम्भावना न्यून

• नेकपा एमाले गण्डकी प्रदेश सरकारबाट बाहिरिने अन्तिम तयारीमा। • बुधबार बस्ने संसदीय दलको बैठकले औपचारिकता दिने सम्भावना। • नयाँ गठबन्धनको सरकार बन्ने सम्भावना न्यून, कांग्रेस नेतृत्वको सरकार बहुमतमा।
Laxmi Bhattarai
Laxmi Bhattarai
26 August 2026, 5:33 am १ मिनेट पढाइ
आकार:
गण्डकी सरकार एमाले
Share:

गण्डकी प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिने निर्णयमा पुगेको छ। कांग्रेस नेतृत्वको सरकारबाट बाहिरिन पार्टीले निर्देशन दिएको छ।

बुधबार बिहान ८ बजे बस्ने गण्डकी प्रदेश एमाले संसदीय दलको बैठकले यसलाई औपचारिकता दिने स्रोतले बताएको छ। मंगलबार बसेको संसदीय बोर्ड बैठकले मन्त्रीहरूलाई सरकारबाट बाहिरिन निर्देशन दिएको थियो। तर, संसदीय दलको बैठकबाट औपचारिक निर्णय गरेर मात्र राजीनामा बुझाउने भन्दै तत्काल राजीनामा नबुझाइएको थियो।

एमालेका मन्त्रीहरू सरकारमा बसे पनि सहमतिमै छाड्ने पक्षमा छन्। भौतिक पूर्वाधार तथा यातायात विकासमन्त्री गोविन्दबहादुर नेपालीले पार्टी र संसदीय दलको निर्णयअनुसार अघि बढ्ने बताए। ‘आजसम्म हामी कांग्रेससँगको सहमतिअनुसार नै सरकारमा छौँ,’ उनले भने, ‘भोलि छाड्न परे पनि सहमतिमै छाड्छौँ।’

भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीम कार्कीले सरकारको विषयमा चाँडै निर्णयमा पुग्ने बताए। उनले मुख्यमन्त्रीलाई सरकार एक्लै चलाउन चाहेको हो भने चलाउन आग्रह गरिएको तर राजीनामा भने नबुझाइएको बताए।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकारबाट नबाहिरिएका एमालेका मन्त्रीहरूलाई बर्खास्त गर्ने चेतावनी दिएका थिए। केन्द्रमा एमाले–नेकपा गठबन्धन बनेर गण्डकी र मधेसबाहेकका प्रदेशमा सरकार बनिसक्दा पनि गण्डकीमा एमालेले सत्ता नछाडेको भन्दै ‘सत्तालोलुप’ भएको आरोप खेप्नुपरेको थियो।

एमाले सरकारबाट बाहिरिएलगत्तै एमाले–नेकपा गठबन्धनबाट सरकार गठनको प्रयास हुने नेताहरू बताउँछन्। तर, गण्डकीमा संख्यात्मक हिसाबले त्यो सम्भावना निकै न्यून देखिन्छ। ६० सदस्यीय प्रदेशसभामा हाल ५९ सदस्य छन्। कांग्रेसका २७, राप्रपाका दुई र तत्कालीन माओवादीको चुनावचिह्नबाट निर्वाचित नयाँ शक्ति पार्टीका सांसद फणीन्द्र देवकोटाको समर्थन यथावत् रहँदा मुख्यमन्त्री पाण्डेको बहुमत सुरक्षित देखिन्छ।

अधिकारी नेतृत्वमा सरकार बनाउन एमालेले राप्रपालाई फकाइरहेको छ। एमालेका २२ र नेकपाका सभामुखबाहेक ६ सदस्य छन्। राप्रपाले समर्थन गरेमा बहुमत पुग्ने देखिन्छ। तर, तत्कालीन खगराज अधिकारीलाई समर्थन नगरेको राप्रपाले तत्काल कांग्रेसलाई दिएको समर्थन फिर्ता लिएर एमाले–नेकपा सरकार बनाउन सहयोग गर्ने सम्भावना कम छ।

नयाँशक्तिका सांसद देवकोटाले पनि पाण्डे सरकारलाई समर्थन यथावत् दिएका छन्। उनले तत्काल समर्थन फिर्ता नलिने दाबी कांग्रेसको छ। बरु देवकोटा आफैँ पाण्डे नेतृत्वको सरकारमा सामेल हुने मुख्यमन्त्री पाण्डेले दाबी गर्दै आएका छन्।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार