राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्बु ओलीले मुलुक प्राकृतिक विपद् र राष्ट्रिय संकटको घडीमा रहेका बेला निजी वायुसेवा कम्पनीहरूले हवाई भाडामा गरेको अस्वाभाविक वृद्धिप्रति गम्भीर आपत्ति जनाएकी छन्। नागरिकको बाध्यताको फाइदा उठाएर नाफा कमाउन खोज्नु अमानवीय र आपत्तिजनक भएको भन्दै उनले सरकारको ध्यानाकर्षण गराएकी छन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै सांसद ओलीले विपद्का कारण सडक सञ्जाल अवरुद्ध भई नागरिकको आवागमन कठिन भएको अवस्थामा हवाई भाडा बढाउनु सामाजिक उत्तरदायित्व विपरीत भएको बताइन्। “देश राष्ट्रिय संकटको घडीमा छ। यस्तो अवस्थामा नागरिकको आवागमन सहज बनाउनुको सट्टा आन्तरिक वायुसेवा कम्पनीहरूले हवाई भाडा अस्वाभाविक रूपमा बढाउनु गम्भीर र आपत्तिजनक छ,” उनले भनिन्, “संकट नागरिकमाथि नाफा कमाउने अवसर होइन।”
उनले वायुसेवा कम्पनीहरूलाई प्रश्न गर्दै विपद्को समयमा नागरिकको बाध्यताको शोषण गर्ने कि सामाजिक उत्तरदायित्व निर्वाह गर्ने भन्ने विषयमा सोच्न आग्रह गरिन्। सडक मार्ग बन्द भएपछि हवाई यात्राको विकल्प खोजिरहेका सर्वसाधारण मारमा परेको उल्लेख गर्दै सांसद ओलीले अस्वाभाविक भाडा वृद्धिलाई तत्काल नियन्त्रण गर्न नेपाल सरकारसँग माग गरेकी छन्।
साथै, उनले नागरिकलाई राहत दिन र सहज आवागमन सुनिश्चित गर्नका लागि प्रभावकारी कदम चाल्न समेत सरकारलाई आग्रह गरेकी छन्। बुधबार बिहान चीनतर्फबाट आएको बाढीले रसुवा, नुवाकोट, धादिङ लगायतका क्षेत्रमा व्यापक धनजनको क्षति भएको छ।
