अविरल वर्षा, बाढी र पहिरोले देशभरका मुख्य राजमार्ग ठप्प पारेको छ। नेपाल प्रहरीले आइतबार साँझ ५ बजेसम्मको विवरण सार्वजनिक गर्दै यात्रुहरूलाई सचेत रहन र वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ।
कान्तिलोकपथ सडक खण्डको बागमती गाउँपालिका ३ भट्टेडाँडा पाण्डुरमा दिउँसो २:४० बजे पहिरो खसेको छ। मेची राजमार्गको इलाम नगरपालिका ९ राजदुवालीमा पनि वर्षाले सडक अवरुद्ध छ। यहाँ वैकल्पिक बाटोको व्यवस्था गरिएको छ।
वि.पि. राजमार्गमा सम्भावित बाढीले गर्दा राति ४ बजेदेखि बिहान ४ बजेसम्म सवारी रोकेको छ। बिहान ४ बजेदेखि साँझ ४ बजेसम्म भने अवस्था हेरेर चलाउन दिइनेछ।
हेटौंडा–ठिंगन–बागमती–ललितपुर खण्डमा रातिको समयमा (साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म) बाढी र पहिरोको जोखिमले सवारी चलाउन रोक लगाइएको छ।
त्रिशुली मैलुङ स्याफ्रुबेशी सडक खण्डको उत्तरगया ५ खाल्टेमा बाढीले सडक पूर्ण अवरुद्ध छ। यो अवरोध लामो समयसम्म रहने प्रहरीले जनाएको छ।
टोखा छहरे सडक खण्डको शिवपुरी गा.पा. घट्टेखोलामा राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी रोक्ने निर्णय भएको छ। पसाङ ल्हामु सडक खण्ड पनि बाढीले अवरुद्ध छ।
अरनिको राजमार्गको भोटेकोशी २ कोदारीमा बिहान ७ बजे पहिरो खसेको छ।
पृथ्वीलोकमार्गको बेनिघाट रोराङ ७ कृष्ण भिरमा बिहान ८ बजे र गजुरी २ परेवा भिरमा दिउँसो १२ बजे पहिरो खसेको छ। बेनी जोमसोम सडक खण्डको रघुगंगा २ बैँसरीमा बिहान ५:५५ बजे पहिरो गएको छ।
मुगुको छाँयानाथ रारा नगरपालिका ७ झ्यारीखोला र टोक्ला सडकमा दिउँसो २:३० बजे पहिरो जाँदा यातायात ठप्प छ।
प्रहरीले अवरुद्ध सडक खुलाउने प्रयास गरिरहेको छ। मौसम प्रतिकूल रहेकाले अत्यावश्यक अवस्थामा बाहेक यात्रा नगर्न र यात्राअघि प्रहरी वा कन्ट्रोल रूममा सम्पर्क गर्न सर्वसाधारणलाई आग्रह गरिएको छ।
