रसुवाको भोटेकोशी बाढीले बगाएका २७२ शवमध्ये १९९ को चितवनमा व्यवस्थापन गरिएको छ। भरतपुर महानगरपालिका–१ देवघाट जङ्गलमा आइतबार रातिसम्म व्यवस्थापन गरिएको हो।
जिल्ला प्रहरी कार्यालय, चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार हालसम्म २७२ शव भेटिएका छन्। तीमध्ये १९९ वटाको व्यवस्थापन गरिएको छ भने १२ वटाको सनाखत भएको छ।
प्रहरी उपरीक्षक पौडेलले शवहरूको डिएनए नमूना सुरक्षित राखेर जङ्गलमा व्यवस्थापन गरिएको बताए। सनाखत भएका शव परीक्षणपछि परिवारले बुझेर लगेका छन्। डिएनए नमूना बेपत्ता व्यक्तिका परिवारसँग मिलेमा पहिचान गर्न सकिने गरी व्यवस्थापन गरिएको छ।
हालसम्म फेला परेका २७२ शवमध्ये ११० पुरुष, ६२ महिला, सात बालक, छ बालिका र ८७ अवशेष छन्। नदी किनारमा शव फेला पर्ने क्रम जारी छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल संयुक्त रूपमा खोजी तथा व्यवस्थापनमा खटिएका छन्।
