तिब्बतको हिमालमा हिउँ र बरफको ढिस्को झरेर पग्लिएका हिउँबाट बनेका अस्थायी हिमताल फुट्दा आउने बाढीले ठूलो क्षति पुर्याउन सक्ने खतरा बढेको छ। ग्लोबल वार्मिङ र जलवायु परिवर्तनको असरले हिमालयन क्षेत्रमा हिउँ पग्लिने क्रम तीव्र भएको छ, जसले गर्दा ‘ग्लासिए लेक आउट ब्रस्ट फ्लड’ (GLOF) को जोखिम बढाएको छ।
पृथ्वीको औसत तापक्रम वृद्धिका कारण हिमालयमा जमेका पुराना हिउँका ढिस्काहरू, जसलाई पर्माफ्रोस्ट भनिन्छ, पग्लिएर कमजोर बन्दै तल खस्ने क्रम बढेको छ। यसले गर्दा हिमालको फेदीमा अस्थायी हिमतालहरू बन्ने क्रम तीव्र भएको छ। जब माथिबाट हिउँ वा ढुङ्गाको ठूलो ढिस्को ती तालहरूमा खस्छ, तब तालको बाँध फुटेर तल्लो तटीय क्षेत्रमा भीषण बाढी आउने गर्छ।
पेट्रोलियम पदार्थ जल्दा निस्कने कालो धुवाँ (ब्ल्याक कार्बन) हिमालमा जमेको हिउँमाथि जम्मा भएर घामको ताप सोस्ने गर्छ। यसले हिउँलाई भित्रभित्रै पग्ल्याएर कमजोर बनाउँछ र हिउँको ढिस्को फुट्न मद्दत गर्छ। साथै, पेट्रोलियम पदार्थ जल्दा निस्कने कार्बनडाइअक्साइडले पृथ्वीको वायुमण्डलमा बाक्लो तह बनाएर तापक्रम बढाउँछ, जसले हिउँ पग्लने प्रक्रियालाई झन् तीव्र पार्छ। भोटेकोशी, तामाकोशी र अरुण नदीहरूमा आउने बाढीको मुख्य कारण तिब्बतका हिमताल वा हिमपहिरो नै हुने गरेको छ।
जलवायु परिवर्तनका कारण पहिले हिउँ पर्ने ठाउँमा अहिले वर्षा हुन थालेको छ। हिउँमाथि पानी पर्दा हिउँको तह झन् चाँडो चिप्लिने र ठूला ढिस्का खस्ने सम्भावना बढेको छ। बढ्दो तापक्रमले हिमनदीलाई कमजोर बनाउँदै लगेको छ, जसको परिणाम स्वरूप विशाल हिमताल भत्किएर नेपालमा ठूला त्रासदीहरू निम्तिएका छन्।
यस खतराको न्यूनीकरणका लागि आन्तरिक रूपमा विभिन्न उपायहरू अपनाउन सकिन्छ। कोइला, पेट्रोलियम पदार्थ र ग्यासको प्रयोग घटाएर नवीकरणीय ऊर्जाको प्रयोग बढाउनुपर्छ। जलविद्युत, सौर्य ऊर्जा र वायु ऊर्जा जस्ता हरित ऊर्जाको प्रवर्द्धनले विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्नेछ। नेपालको लागि जलविद्युत शतप्रतिशत हरित ऊर्जाको स्रोत हो।
वन जंगलको संरक्षण, खाली जमिन र पहाडी भिरालो भागमा वृक्षारोपण, जंगल फँडानी नियन्त्रण र डढेलोबाट जोगाउने कार्यले वायुमण्डललाई चिसो राख्न मद्दत गर्छ। रूखहरूले कार्बनडाइअक्साइड सोस्ने गर्छन्। फोहोरलाई जलाउनुको सट्टा ‘कम गर्ने, पुनः प्रयोग गर्ने र पुनः चक्रण गर्ने’ (Reduce, Reuse, Recycle) नीति अपनाउनु पर्छ। फोहोर संकलन केन्द्र र पशुपालनबाट निस्कने मिथेन ग्यास (कार्बनडाइअक्साइडभन्दा खतरनाक हरितगृह ग्यास) नियन्त्रण गर्नुपर्छ।
पूर्वाधार विकासमा जोड दिँदै बाढी, पहिरो र भूकम्प प्रतिरोधि सडक, पुल र बाँधहरू निर्माण गर्नुपर्छ। हिमताल फुट्ने वा बाढी आउने सम्भावना देखिएमा तल्लो तटीय क्षेत्रका बासिन्दालाई समयमै सुरक्षित स्थानमा सार्ने प्रारम्भिक चेतावनी प्रणालीलाई प्रभावकारी बनाउनु पर्छ।
