राष्ट्रिय सभाले रसुवाको भोटेकोशीमा विनाशकारी बाढीका कारण भएको जनधनको क्षतिबारे विशेष प्रस्ताव सर्वसम्मत पारित गरेको छ। मंगलबारको बैठकमा अध्यक्ष नारायण प्रसाद दाहालले प्रस्तुत गरेको प्रस्तावले भदौ १० गतेको बाढीमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जलि अर्पण गरेको छ। शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको छ।
प्रस्तावले बाढी प्रभावितको उद्धार र राहतलाई प्राथमिकता दिन सरकारको ध्यानाकर्षण गराएको छ। घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था मिलाउन पनि आग्रह गरिएको छ। भौतिक संरचना पुनर्निर्माणका लागि तहगत सरकारहरूबीच समन्वय गर्नुपर्ने औंल्याइएको छ।
स्थानीय समुदाय, नागरिक समाज, विकास साझेदार र अन्तर्राष्ट्रिय समुदायलाई सहयोगका लागि अपिल गरिएको छ। विपद्को घडीमा राष्ट्रिय एकता कायम राख्न र भविष्यमा आउन सक्ने विपद्को सामना गर्न पूर्वतयारीका काम अघि बढाउन प्रस्तावमा जोड दिइएको छ।
