NM Khabar 1 September 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

विपद् व्यवस्थापनमा सरकार चुकेको निष्कर्ष: विपक्षी दलद्वारा अन्तर्राष्ट्रिय सहयोगको माग

रसुवा तथा भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन विपक्षी दलहरूले सरकारलाई अन्तर्राष्ट्रिय सहयोग र विज्ञको सहयोग लिनुपर्नेमा जोड दिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा नेकपा एमाले, नेपाली कांग्रेसलगायतका दलहरूले नेपालमा उपलब्ध जनशक्तिको दक्षता नपुगेका ठाउँमा अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गरेर विशेषज्ञ टोली झिकाउन सरकारलाई सुझाव दिएका हुन्। बैठकपछि एमाले नेता प्रदीप ज्ञवालीले नेपालभित्र आवश्यक दक्षता र प्राविधिक क्षमता नभएका स्थानमा अन्तर्राष्ट्रिय सहयोग लिएर विज्ञ परिचालन गर्नुपर्ने निष्कर्ष निकालिएको बताए।
Kamala Devi
Kamala Devi
1 September 2026, 6:03 pm १ मिनेट पढाइ
आकार:
विपद् व्यवस्थापनमा सरकार
Share:

रसुवा तथा भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन विपक्षी दलहरूले सरकारलाई अन्तर्राष्ट्रिय सहयोग र विज्ञको सहयोग लिनुपर्नेमा जोड दिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा नेकपा एमाले, नेपाली कांग्रेसलगायतका दलहरूले नेपालमा उपलब्ध जनशक्तिको दक्षता नपुगेका ठाउँमा अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गरेर विशेषज्ञ टोली झिकाउन सरकारलाई सुझाव दिएका हुन्।

बैठकपछि एमाले नेता प्रदीप ज्ञवालीले नेपालभित्र आवश्यक दक्षता र प्राविधिक क्षमता नभएका स्थानमा अन्तर्राष्ट्रिय सहयोग लिएर विज्ञ परिचालन गर्नुपर्ने निष्कर्ष निकालिएको बताए। ‘सबै ठाउँमा होइन, तर जहाँ हाम्रो दक्षता पुग्दैन, त्यहाँ अन्तर्राष्ट्रिय रूपमा सहयोग मागेर एक्सपर्ट व्यक्ति खटाउनुपर्थ्यो भन्ने सुझाव र निष्कर्ष निकालेका छौँ,’ ज्ञवालीले भने।

विपद् व्यवस्थापनमा स्थानीय, प्रदेश र संघीय सरकारबीचको समन्वयलाई अझ प्रभावकारी बनाउनुपर्नेमा पनि बैठकमा जोड दिइएको छ। ‘स्थानीय, प्रदेश र केन्द्रले समन्वय गरेरै काम गर्नुपर्ने निष्कर्ष हामीले दिएका छौँ। यसलाई अझ प्रभावकारी बनाउन सुझाव दिएका छौँ,’ ज्ञवालीले भने।

राहत सामग्रीको व्यवस्थापन र वितरणमा समेत समस्या देखिएको छ। कतिपय स्थानमा राहत सामग्री थुप्रिएर बसेको भए पनि प्रभावित नागरिकले आवश्यक सामग्री पाउन नसकेको गुनासो बैठकमा उठेको थियो। ‘अहिले राहत एकातिर, पीडित अर्कातिर भएको छ। त्यसलाई समन्वय गरेर छिटो–छरितो वितरण गर्नुपर्छ भन्ने हाम्रो कुरा हो। राहत सामग्री एकातिर अलपत्र परेको छ, अर्कोतिर बाढीपीडितले खान र लगाउन पाएका छैनन्। यो गुनासोका विषयमा पनि ध्यानाकर्षण गरायौँ,’ ज्ञवालीले भने।

बाढीका कारण सुरुङ तथा भूमिगत संरचनामा फसेका व्यक्तिको खोजी र उद्धारबारे पनि छलफल भएको थियो। विषय विज्ञ तथा प्राविधिकको सहयोग लिएर सुरुङभित्र फसेका व्यक्तिको उद्धारलाई थप प्रभावकारी बनाउन सकिने विश्लेषण बैठकमा प्रस्तुत भएको छ। विपक्षी दलहरूले नेपालमा उपलब्ध स्रोत, साधन र जनशक्तिले मात्रै सम्भव नभएका जटिल उद्धार कार्यमा अन्तर्राष्ट्रिय विशेषज्ञको सहयोग लिन सरकारले ढिलाइ गरेको निष्कर्ष निकालेका छन्।

विशेषगरी सुरुङभित्रको उद्धारका लागि सम्बन्धित प्रविधि र अनुभव भएका अन्तर्राष्ट्रिय विज्ञलाई तत्काल झिकाएर परिचालन गर्न सके थप मानिसलाई सकुशल उद्धार गर्न सकिने उनीहरूको भनाइ छ। विपद्को समयमा राजनीतिक पक्ष र विपक्षभन्दा माथि उठेर सरकारलाई सहयोग गर्न आफूहरू तयार रहेको विपक्षी दलहरूले बताएका थिए। सरकारले पनि प्रतिपक्षका सुझावलाई राजनीतिक आलोचनाका रूपमा नलिई आवश्यक समन्वय र सहकार्यका रूपमा लिनुपर्नेमा उनीहरूले जोड दिएका छन्।

यसैबीच, आर्या फार्माल्यावले बाढी तथा विपद् प्रभावित क्षेत्रमा रहेका स्वास्थ्य चौकी तथा स्वास्थ्य स्वयंसेवकहरूका लागि ८२ लाख ५१ हजार ७५० रुपैयाँ मूल्य बराबरको औषधि सहयोग गरेको छ। त्यस्तै, मधेस प्रदेशको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलले रसुवाका बाढीपीडितलाई १५ दिनको तलब सहयोग प्रदान गर्ने निर्णय गरेको छ।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार