प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औं महासभामा नेपालले भोग्दै आएको जलवायु संकट र त्यसबाट भइरहेको जनधनको क्षतिको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा उठाउने भएका छन्। न्युयोर्कस्थित राष्ट्रसंघको मुख्यालयमा २२ देखि २८ सेप्टेम्बरसम्म हुने महासभाको ‘हाई लेभल जनरल डिबेट’ अन्तर्गत प्रधानमन्त्री शाहले २४ सेप्टेम्बरमा सम्बोधन गर्ने कार्यक्रम तय भएको परराष्ट्र सचिव अमृतबहादुर राईले जानकारी दिएका हुन्।
सचिव राईका अनुसार, महासभामा ८१ देशका राष्ट्र प्रमुख तथा ५० देशका सरकार प्रमुख सहभागी हुनेछन्। प्रधानमन्त्री शाहले सम्बोधनका क्रममा नेपालले जलवायु परिवर्तनका कारण पटक–पटक भोग्नुपरेका बाढी, पहिरो तथा अन्य प्राकृतिक विपत्तिबाट भएको ठूलो जनधनको क्षतिबारे विश्व समुदायको ध्यानाकर्षण गराउने तयारी छ।
“संयुक्त राष्ट्रसंघको ८१औं महासभाको ‘हाई लेभल जनरल डिबेट’ २२–२८ सेप्टेम्बरसम्म न्युयोर्कस्थित राष्ट्रसंघको मुख्यालयमा हुनेछ। महासभाको जनरल डिबेटमा सम्माननीय प्रधानमन्त्रीज्यूले २४ सेप्टेम्बरमा सम्बोधन गर्ने कार्यक्रम छ,” सचिव राईले भने।
उनले महासभा नेपालमा गत वर्ष भएको ‘जेन्जी आन्दोलन’, त्यसपछि भएको सफल निर्वाचन र वर्तमान सरकारका प्राथमिकताहरू अन्तर्राष्ट्रिय समुदाय समक्ष प्रस्तुत गर्न महत्त्वपूर्ण अवसर हुने बताए। यसबाट अन्तर्राष्ट्रिय सहयोग एवं सद्भावको निरन्तरता र बढोत्तरीका लागि उच्चस्तरबाटै आह्वान गरिनेछ।
नेपालको जलवायु न्यायको मागलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्दै प्रधानमन्त्री शाहले जलवायु परिवर्तनमा नेपालको योगदान न्यून भए पनि त्यसको असर गम्भीर रूपमा भोग्नुपरेको विषय उठाउनेछन्। प्रकृतिमैत्री जीवनशैली, देशको ४६ प्रतिशतभन्दा बढी वन क्षेत्र, हिमालय र बृहत् नदी प्रणालीमार्फत नेपालले विश्व वातावरण संरक्षणमा पुर्याउँदै आएको योगदानबारे पनि महासभामा जानकारी गराइने सचिव राईले बताए।
मन्त्रालयका अनुसार, महासभामा रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले पु¥याएको अपूरणीय क्षतिको स्मरण गराउँदै नेपाल जलवायु संकटको अग्रपंक्तिमा रहेको पुष्टि गरिनेछ। फण्ड फर रेस्पोन्डिङ टु लस एण्ड ड्यामेज लगायतका निकायहरूबाट तत्काल उचित क्षतिपूर्ति तथा सहायता पाउनुपर्ने ‘जलवायु न्याय’ को माग पनि गरिनेछ। जलवायु उत्थानशील पूर्वाधार, स्मार्ट कृषि र सरोकारवालाको क्षमता विकासका लागि विकसित देशहरूसँग सहज र सहुलियतपूर्ण जलवायु वित्त तथा प्रविधि हस्तान्तरणको अपिल गरिनेछ।
