झापाको शिवसताक्षी–५ मा मतपत्र जलाएपछि रोकिएको वडा अधिवेशन, मोरङ–६ मा सदस्यता विवादले अधिवेशन नहुनु — यी नेपाली कांग्रेसको १५औं महाधिवेशन अन्तर्गतका वडा अधिवेशनहरूको यथार्थ चित्र हो। कतै उत्साह त कतै शून्य सहभागिता कांग्रेसकै नेताहरूले स्वीकार गरेका छन्।
कोशी प्रदेशका झापा, मोरङ र सुनसरीजस्ता जिल्लामा सम्पन्न वडा अधिवेशनको ग्राउन्ड रियालिटी पार्टी केन्द्रको ‘परिवर्तित कांग्रेस’ र ‘पुस्तान्तरण’ नाराभन्दा निकै भिन्न छ। जिल्ला र प्रदेश नेतृत्वले अधिकांश ठाउँमा सर्वसम्मत अधिवेशन भएकाले भिडभाड नदेखिएको दाबी गरे पनि अधिवेशनस्थलहरू सुनसानजस्तै छन्। क्रियाशील सदस्यहरू समेत अनुपस्थित भएको पाइएको छ।
विगतका महाधिवेशनमा ३३ जना क्षेत्रीय प्रतिनिधि बन्न सयौंले मनोनयन दर्ता गर्थे। यसपटक ३३ जना प्रतिनिधि पुर्याउनै गाह्रो भएको कांग्रेस नेताहरू बताउँछन्। ‘४ सय क्रियाशील सदस्य भएको ठाउँमा ४० जना पनि उपस्थित हुँदैनन्। समावेशी कोटामा मान्छे भेटिँदैन,’ एक नेताले गुनासो गरे। ‘यो अधिवेशन उत्साहले होइन, कर्मकाण्ड पूरा गर्न मात्र भएको छ।’
झापा कांग्रेसका सभापति देउमान थेबे सर्वसम्मतिका कारण भिड नदेखिएको दाबी गर्छन्। ‘अधिकांश वडाहरू सर्वसम्मत भए। २–३ प्रतिशतमा मात्र चुनाव भयो। सर्वसम्मत थाहा पाएपछि को घाममा बस्न जान्छ र?’ थेबेले भने। नेता यदु विष्ट पनि मोरङमा निर्वाचन नहुँदा उपस्थिति कम जस्तो लागेको तर उत्साह नघटेको तर्क गर्छन्।
कोशी प्रदेशका महामन्त्री उमेश थापा २५ वर्षमुनिका युवा र नयाँ अनुहार आएको दाबी गर्छन्। तर, पुरानै शक्ति संरचना भत्किन नसकेको स्वीकार्छन्। ‘विगतको जस्तो उत्साह र उपस्थिति पक्कै छैन। सूची आउन ढिलाइ, नाम छुट्नु र हतारमा काम हुनाले अन्योल भयो,’ थापाले भने।
झापाका एक नेता काठमाडौंको मिडिया र ग्राउन्डको अवस्थामा ठूलो फरक रहेको बताउँछन्। ‘मिडियाले ‘परिवर्तित कांग्रेस’ भने पनि गाउँका कार्यकर्तालाई छोएको छैन। गगन, विश्व आए भन्दैमा पार्टी बदलियो भन्नु भ्रम हो। सोच र शैली नबदल्दा कार्यकर्तामा आकर्षण मरेको छ,’ उनले भने।
वडा अधिवेशन उत्साहहीन हुनुको मुख्य कारण केन्द्रको व्यवस्थापकीय कमजोरी र सदस्यता वितरणको भद्रगोल हो। सुनसरी र मोरङका कतिपय क्षेत्रमा अधिवेशनको अघिल्लो रातसम्म क्रियाशील सदस्यको अन्तिम सूची पुगेको थिएन। मोरङ–६ मा डा. शेखर कोइराला पक्षले सदस्यता अद्यावधिकमा किचलो गर्दा अधिवेशन हुन सकेको छैन।
महामन्त्री उमेश थापाका अनुसार सदस्यतामा दाबीविरोध, छानबिन र प्रमाणीकरणको समय दिइएन। पुराना कार्यकर्ताको नाम काट्दा र नयाँको नाम गायब पार्दा कार्यकर्ता आक्रोशित भएर घरमै बसे।
कोशी प्रदेशमा कांग्रेसका क्रियाशील सदस्य २ लाख हाराहारी थिए। यस पटक कति छन् भन्ने यकिन छैन। ‘अहिलेसम्म पूरै विवरण आइसकेको छैन,’ थापाले भने। उनले यस पटक युवाहरूको सहभागिता उत्साहजनक रहेको दाबी गरे।
कांग्रेस कोशीका सहमहामन्त्री खड्ग फागो आफूले सहभागी भएका स्थानमा क्रियाशील सदस्यहरूको सहभागिता उत्साहजनक देखेको बताए। ‘मैले हेरेको ठाउँमा विगतकै जस्तो उत्साह छ। युवाहरू आएका छन्,’ फागोले भने।
