रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीले बेपत्ता बनाएका २८१ व्यक्तिको शव गोकर्णेश्वरमा व्यवस्थापन गरिएको छ। भविष्यमा पहिचान खुल्ने गरी ती शव सुरक्षित राखिएका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार रसुवा, धादिङ र नुवाकोटबाट संकलित शवहरू गोकर्णेश्वर नगरपालिका-७ को दक्षिणढोका वन क्षेत्रमा व्यवस्थापन गरिएको हो। त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम र डिएनए परीक्षणका लागि नमुना संकलनपछि शव गाडिएको Nmkhabarलाई स्रोतले पुष्टि गर्यो।
भविष्यमा डिएनए रिपोर्ट वा अन्य प्रमाणले पहिचान भएमा परिवारलाई शव हस्तान्तरण गरिनेछ। प्रहरीले सम्पूर्ण विवरण र नमुना सुरक्षित राखेको छ।
शव व्यवस्थापनमा विशेष ‘एयरटाइट ब्याग’ प्रयोग गरिएको छ। प्रत्येक ब्यागमा ट्याग नम्बर राखिएको छ। सोही नम्बर र डिएनए नमुनाको अभिलेखले शव पहिचान सहज हुने प्रहरी उपरीक्षक थापाले जानकारी दिए।
बाढीले ठूलो क्षति गरेपछि पहिचान हुन नसकेका शव काठमाडौं ल्याइएको थियो। पहिचान हुन बाँकी शवको डिएनए नमूना सुरक्षित राखी अनुसन्धान जारी छ।
