राधास्वामी सत्संग व्यास आश्रममा आश्रय लिइरहेका बालबालिकाहरू आज (मंगलबार) देखि विद्यालयको औपचारिक शिक्षामा जोडिने भएका छन्। काठमाडौं महानगरपालिकाको शिक्षा विभागले विशेष पहल गरी उनीहरूलाई वडा नं. १४ मा रहेको जन विकास माध्यमिक विद्यालयमा भर्ना गराएको हो।
विद्यालय जाने अवसर पाएका बालबालिका
- राधास्वामी सत्संग व्यास आश्रममा रहेका बालबालिकाहरू मध्ये ५२ जनाले आजदेखि विद्यालय जाने अवसर पाएका छन्।
- काठमाडौं महानगरपालिकाको शिक्षा विभागले विद्यार्थी र अभिभावकहरूसँग परामर्श गरी उनीहरूको रुचि र आवश्यकता पहिचान गरेको थियो।
- उनीहरूलाई वडा नं. १४ मा रहेको जन विकास माध्यमिक विद्यालयमा भर्ना गराइएको छ।
- यो विद्यालय बालबालिका बसिरहेको आश्रमबाट पैदल दूरीमा छ।
नदी किनारमा अव्यवस्थित बसोबास गरिरहेका घर टहराहरू खाली गराउने क्रममा विभिन्न स्थानबाट उद्धार गरिएका ६६ परिवारका २०३ जनालाई राधास्वामी सत्संग व्यास आश्रममा अस्थायी बसोबासको व्यवस्था मिलाइएको थियो। तीमध्येका बालबालिकाहरूको शिक्षालाई निरन्तरता दिन महानगरपालिकाले यो कदम चालेको हो।
शिक्षा विभागका प्रमुख हुमनाथ ज्ञवालीले सोमबार विद्यार्थी र अभिभावकहरूसँग छलफल गरी उनीहरूको पढ्ने इच्छा, रुचि र आवश्यकतालाई बुझेर सोहीअनुसारको शैक्षिक वातावरण प्रदान गर्ने उद्देश्यले यो निर्णय गरेको जानकारी दिए। यसले बालबालिकाहरूलाई सामान्य जीवनशैलीमा फर्किन र भविष्य निर्माणको आधार तयार गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।
महानगरपालिकाले आगामी दिनमा यी बालबालिकाहरूको शैक्षिक प्रगतिलाई नियमित अनुगमन गर्ने र उनीहरूलाई आवश्यक पर्ने अन्य सहयोगका लागि पनि पहल गर्ने जनाएको छ।
