संवैधानिक परिषद्ले बिहीबार कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लसहित शीर्ष वरीयताका न्यायाधीशहरूलाई छाडेर चौथो वरीयताका डा. मनोजकुमार शर्मालाई सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिश गरेको छ।
प्रधानन्यायाधीश राउतको अवकाश र ६ न्यायाधीशको नाम सिफारिश
प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत ६५ वर्षे उमेरहदका कारण गत चैत १८ गतेदेखि अवकाशमा गएसँगै प्रधानन्यायाधीशको पद रिक्त भएको थियो। न्याय परिषद्ले सर्वोच्च अदालतका ६ जना न्यायाधीशको नाम संवैधानिक परिषद्मा पठाएको थियो जसमा सर्वोच्चकी वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लसहित कुमार रेग्मी, हरिप्रसाद फुयाल, डा. मनोजकुमार शर्मा, डा. नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम समावेश थियो। संविधानको धारा १२९ को उपधारा ३ अनुसार सर्वोच्च अदालतको न्यायाधीश पदमा कम्तीमा तीन वर्ष काम गरेको व्यक्ति प्रधानन्यायाधीशको पदमा नियुक्ति हुन योग्य हुने व्यवस्था छ। संवैधानिक परिषद्ले कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लसहित शीर्ष वरीयताका न्यायाधीशहरूलाई छाडेर चौथो वरीयताका शर्मालाई प्रधानन्यायाधीश सिफारिश गरेको हो।
उनी वि.सं. २०२७ असार ४ गते पर्सा जिल्लाको वीरगञ्जमा जन्मिएका हुन्। उनले काठमाडौंस्थित नेपाल ल क्याम्पसबाट बी.एल. तथा भारतको पुणे विश्वविद्यालयबाट एल.एल.एम. उपाधि हासिल गरेका थिए। साथै, उनले नेपालस्थित त्रिभुवन विश्वविद्यालयबाट श्रम कानून विषयमा विद्यावारिधि (पीएचडी) उपाधि प्राप्त गरेका हुन्। सन् १९९५ मा अधिवक्ताका रूपमा दर्ता भई कानूनका विभिन्न क्षेत्रमा वकालत पेशामा संलग्न रहेका शर्माले विभिन्न कम्पनी तथा संस्थाहरूलाई कानूनी परामर्शसमेत प्रदान गरेका थिए। त्यसैगरी, उनले सन् २०१३ जुन १० देखि सन् २०१५ डिसेम्बर १२ सम्म बुटवल र पाटनस्थित पुनरावेदन अदालतमा अतिरिक्त न्यायाधीशका रूपमा काम गरेका थिए।
संसदीय सुनुवाइ प्रक्रिया पूरा भएपछि राष्ट्रपतिले डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा नियुक्त गर्नेछन्।
