देशका केही राजमार्ग बाढीपहिरोका कारण अवरुद्ध भएकामा आजदेखि सञ्चालनमा आएका छन्, तर केही मुख्य मार्ग अझै अवरुद्ध छन्।
वैशाख २१ गतेको अविरल वर्षाका कारण काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका-६ चौकीडाँडा र रोशी गाउँपालिका-७ घुमाउने, ४०० बेँसीस्थित बीपी राजमार्ग तथा सल्यानको कुमाख गाउँपालिका-२ खरखरखोला र कोइरालाखोलास्थित सल्ली चौरजहारी सडकखण्ड बिहीबारदेखि सञ्चालनमा आएका हुन्।
नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार, वैशाख १२ गतेको बाढीले अवरुद्ध भोजपुर नगरपालिका बोखिमको मध्यपहाडी लोकमार्ग र वैशाख २३ गतेको पहिरोले अवरुद्ध मकालु गाउँपालिका-३ नयाँ बस्तीस्थित कोशी राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा आएका छन्। यद्यपि, वैशाख २१ गतेको वर्षाले इलामको रोङ गाउँपालिका-६ सलकपुरस्थित ङखेप हुँदै झापा जाने भित्री कच्ची सडक पूर्ण रूपमा अवरुद्ध भई अझै खुल्न सकेको छैन।
प्रवक्ता काफ्लेले भने, “वर्षासँगै आएको बाढीपहिरोले अवरुद्ध भएका केही मुख्य राजमार्ग सञ्चालनमा आएका छन् भने केही राजमार्ग एकतर्फी सञ्चालन भएका छन्। काभ्रेपलाञ्चोक खुर्कोट-नेपालथोक-कटुञ्जेबेसी बीपी राजमार्ग हुँदै सञ्चालन हुने सम्पूर्ण सवारीसाधन आवागमनमा रोक लगाइएको छ।”
वर्षाको समयमा बाढीपहिरोको जोखिम बढी हुने भएकाले प्रहरीले अवरुद्ध भएका र एकतर्फी सञ्चालन भएका राजमार्गमा सुरक्षित एवं सावधानी तरिकाले यात्रा गर्न सबै सरोकारवालालाई आग्रह गरेको छ।
