राष्ट्रिय वाणिज्य बैंकका सञ्चालक हरि सिलवाललाई पदबाट राजीनामा दिन सरकारले ताकेता गरेको छ, नमाने बर्खास्त गर्ने तयारी रहेको सरकारी स्रोतले जनाएको छ। तत्कालीन सरकारका पालामा नियुक्ति पाएका बैंकका अध्यक्षसहित अन्य सञ्चालकहरूले राजीनामा दिएपछि एमाले ‘क्याडर’का रूपमा चिनिएका सिलवाललाई पनि पद छोड्न दबाब बढेको हो।
सरकारी स्वामित्वका तीनवटै बैंकका अध्यक्ष र सञ्चालकहरूले राजीनामा दिएपछि सिलवाललाई समेत राजीनामाका लागि ताकेता गरिएको सरकारी स्रोतको दाबी छ। सरकारले जारी गरेको अध्यादेशले नेपाल राष्ट्र बैंक र बैंकरलाई नछोए पनि राजनीतिक रूपमा नियुक्ति लिएकाहरूलाई पद छोड्न पत्र नै पठाएको थियो, जसपछि अन्य बैंकका अध्यक्ष र सञ्चालकहरूले राजीनामा दिएका हुन्।
सिलवालको नियुक्तिमा स्वार्थको द्वन्द्व र गैरकानूनी आरोप
सिलवालको नियुक्ति गैरकानूनी भएको भन्दै नियुक्तिकै समयदेखि बैंकभित्र चर्को विरोध भएको थियो। उनी बैंकको सञ्चालक नियुक्त हुँदा सोही बैंकमा अटो लोनका ऋणी थिए, जुन स्वार्थको द्वन्द्व हुनेगरी बैंकको सञ्चालक बन्न नपाउने कानूनी व्यवस्था विपरीत थियो। यसका साथै, उनी बैंककै भगिनी संस्था आरबिबि मर्चेन्ट बैंकिङको अडिटरसमेत रहेकाले उनको नियुक्ति थप विवादित बनेको थियो।
अर्थ मन्त्रालय स्रोतका अनुसार, सरकारको निरन्तर ताकेतापछि सिलवालले पदबाट राजीनामा दिने मनसाय बनाएको बुझिएको छ। यदि उनले राजीनामा नदिए सरकारले उनलाई बर्खास्त गर्ने तयारी गरेको छ।
