NM Khabar 8 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

सिरहाको बरियारपट्टीमा छोटी भन्सार बन्द हुँदा व्यापार र राजस्वमा असर, हुलाकी मार्ग अवरुद्ध

सिरहाको बरियारपट्टीमा छोटी भन्सार कार्यालय बन्द गर्ने सरकारी निर्णयविरुद्ध स्थानीयवासी तथा व्यापारीहरूले आन्दोलन सुरु गरेका छन्। आन्दोलनले हुलाकी मार्ग अवरुद्ध पारेको छ, जसले पूर्व–पश्चिम आवागमन प्रभावित बनेको छ।
Kamala Devi
Kamala Devi
8 May 2026, 9:37 am १ मिनेट पढाइ
आकार:
Share:

सिरहाको बरियारपट्टीमा छोटी भन्सार कार्यालय बन्द गर्ने सरकारी निर्णयविरुद्ध स्थानीयवासी तथा व्यापारीहरूले हुलाकी मार्ग अवरुद्ध गर्दै आन्दोलन चर्काएका छन्।

सरकारले २०८३ वैशाख २१ गते राजपत्रमा सूचना प्रकाशित गर्दै बरियारपट्टी छोटी भन्सार कार्यालय बन्द गर्ने निर्णय गरेपछि यो विरोध चर्किएको हो। बिहीबार बिहान करिब पाँच घण्टा हुलाकी मार्ग अवरुद्ध गर्दै आन्दोलनकारीहरूले जिल्ला प्रशासन कार्यालय सिरहामा ज्ञापनपत्र बुझाएका थिए।

सोही कार्यक्रमअन्तर्गत शुक्रबार बिहानैदेखि बरियारपट्टी गाउँपालिका–३ स्थित बरियारपट्टी चोकमा प्रदर्शनकारीहरूले सडकको बीचभागमा बेन्च राखेर र टायर बालेर हुलाकी मार्ग अवरुद्ध गरेका छन्। सडक अवरुद्ध हुँदा पूर्व–पश्चिम आवागमन प्रभावित बनेको छ भने भारतबाट नेपालतर्फ आउने तथा नेपालबाट भारततर्फ जाने यात्रुले सास्ती खेप्नु परेको छ।

बरियारपट्टी गाउँपालिका–३ का वडाध्यक्ष विनोद कुमार यादवले जानकारी दिएअनुसार, आन्दोलनको घोषित कार्यक्रमअनुसार वैशाख २५ गते बिहान ७ बजेदेखि ११ बजेसम्म चक्काजाम गरिएको छ। वैशाख २६ गते र्‍यालीसहित कोणसभा, वैशाख २७ गते दिनभर बजार बन्द तथा मसाल जुलुस, र वैशाख २८ गतेदेखि अनिश्चितकालीन आमहड्तालको तयारीका लागि बृहत् छलफल गरिनेछ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले सरकारले छोटी भन्सार हटाएपछि नागरिकलाई हुने असहजतालाई मध्यनजर गर्दै तत्काल माडर भन्सार कार्यालयबाट कर्मचारी खटाइएको र माडर भन्सार कार्यालयकै नाममा भन्सार काट्ने व्यवस्था मिलाइएको जानकारी दिए।

जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख जिल्ला अधिकारी पौडेलले आन्दोलनकारीबाट प्राप्त ज्ञापनपत्रका आधारमा अर्थ मन्त्रालयलाई पत्राचार गर्ने तयारी भइरहेको बताउँदै अब मन्त्रालयबाट आउने निर्णयअनुसार नै अगाडि बढ्ने बताएका छन्।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

Nmkhabar की मधेश प्रदेश संवाददाता। तराई क्षेत्रका राजनीतिक, कृषि र सामाजिक विषयमा जमिनी स्तरबाट रिपोर्टिङ गर्छिन्।

सम्बन्धित समाचार