सङ्घीय संसद्अन्तर्गत संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश डा. मनोजकुमार शर्माविरुद्ध उजुरी दिन आह्वान गर्दै सूचना प्रकाशित गरेको छ।
समितिले शनिबार प्रकाशित गरेको सूचनामा डा. शर्मालाई प्रधान न्यायाधीश पदमा नियुक्त गर्न उपयुक्त नभएको ठान्ने कुनै पनि व्यक्तिलाई स्पष्ट आधार र सबुत प्रमाणसहित १० दिनभित्र उजुरी पेश गर्न आग्रह गरिएको छ। उजुरी शिष्ट र मर्यादित भाषामा हुनुपर्ने उल्लेख छ।
नागरिकहरूले संसदीय सुनुवाइ समिति, सङ्घीय संसद् सचिवालय सिंहदरबारस्थित सचिवालय वा कुनै जिल्ला प्रशासन कार्यालयमार्फत उजुरी दिन सक्नेछन्। उजुरीकर्ताले आफ्नो नाम, थर, वतन र फोन नम्बर खुलाउनुपर्ने भए पनि, उनीहरूले चाहेमा नाम गोप्य राखिने व्यवस्था गरिएको छ।
समितिले जिल्ला प्रशासन कार्यालयमार्फत प्राप्त हुने उजुरी तोकिएको समयभित्र सचिवालयमा पठाइदिन पनि अनुरोध गरेको छ।
