बेइजिङमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ समकक्षी सी जिनपिङले सन् २०२६ लाई द्विपक्षीय सम्बन्धको कोसेढुङ्गा वर्ष बनाउने सङ्कल्प गर्दै ‘थ्युसिडाइडिज ट्र्याप’ चिर्ने उद्घोष गरे। लगभग दुई घण्टा चलेको वार्तामा ताइवान, इरान युद्ध, कृत्रिम बुद्धिमत्ता र व्यापारमा गहन छलफल भयो।
सन् २०१७ पछिको पहिलो चीन यात्रामा अमेरिकी राष्ट्रपति ट्रम्पलाई बुधबार साँझ बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ उपराष्ट्रपति हान झेङले स्वागत गरे। विमानस्थलमा बालबालिकाले फूल र झन्डासहित स्वागतको नारा लगाए।
मार्चमा तय भएको भ्रमण अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेपछि उत्पन्न क्षेत्रीय तनावले स्थगित भयो। ट्रम्पको टोलीमा एनभिडियाका जेन्सेन हुआङ, एप्पलका टिम कुक, टेस्लाका एलन मस्क र बोइङका प्रतिनिधिहरू सामेल थिए।
बिहीबार बिहान ग्रेट हल अफ द पिपुलमा पूर्ण सैन्य सम्मानका साथ स्वागत समारोह भयो। राष्ट्रपति सी र ट्रम्पले न्यानो हात मिलाउँदा समारोह कक्ष तालीले गुञ्जियो। २१ तोपको सलामी र राष्ट्रिय गानबीच दुई नेताले पिपुल्स लिबरेसन आर्मी (पीएलए) को गार्ड अफ अनर निरीक्षण गरे।
सीको आह्वान: ‘थ्युसिडाइडिज ट्र्याप’ चिर्दै रचनात्मक स्थिरता
वार्ताको प्रारम्भमै राष्ट्रपति सीले दुवै राष्ट्रलाई ऐतिहासिक प्रश्नहरूको सामना गर्न आह्वान गरे। उनले ‘थ्युसिडाइडिज ट्र्याप’ (उदाउँदो र स्थापित शक्तिबीचको अपरिहार्य द्वन्द्वको सिद्धान्त) चिर्दै नयाँ सम्बन्ध स्थापित गर्न सकिन्छ कि भनी प्रश्न गरे।
उनले ट्रम्पसँग मिलेर चीन–अमेरिका सम्बन्धलाई सही दिशामा अघि बढाउने सङ्कल्प गरे। सन् २०२६ लाई द्विपक्षीय सम्बन्धको ऐतिहासिक वर्ष बनाउने लक्ष्य राखियो। चीन–अमेरिका रचनात्मक रणनीतिक स्थिर सम्बन्धको औपचारिक घोषणा भयो। राष्ट्रपति सीका अनुसार यो अवधारणा सहयोगमा आधारित सकारात्मक स्थिरता, नियन्त्रित प्रतिस्पर्धा, मतभेदको व्यवस्थापन र दिगो शान्तिमा केन्द्रित रहनेछ।
ताइवान: सीको कडा चेतावनी, ११ अर्ब डलरको हतियार सम्झौतामा चीनको आपत्ति
शिखर वार्ताको सबैभन्दा पेचिलो मुद्दा ताइवान रह्यो। राष्ट्रपति सीले ट्रम्पलाई कडा चेतावनी दिँदै अडान स्पष्ट पारे। उनले ताइवान मुद्दा चीन–अमेरिका सम्बन्धको सबैभन्दा संवेदनशील प्रश्न भएको बताए। यसलाई गम्भीरतापूर्वक नसम्हाले सीधा टकराव र द्वन्द्व आउन सक्ने सीको भनाइ थियो।
चीनले ताइवान स्वतन्त्रता र क्षेत्रीय शान्ति विपरीत रहेको जिकिर गर्यो। जलसन्धिमा स्थिरता कायम राख्नु दुवै राष्ट्रको साझा लक्ष्य हुनुपर्नेमा जोड दियो। वार्ताअघि अमेरिकी विदेशमन्त्री मार्को रुबियोले ताइवान मुद्दा छलफलको केन्द्रमा रहने पुष्टि गरेका थिए। अमेरिकाले स्वीकृत गरेको ११ अर्ब डलरको ताइवान हतियार सम्झौताप्रति चीनले कडा आपत्ति जनायो। चीनले यसलाई आफ्नो सार्वभौमिकतामाथिको गम्भीर चुनौती मान्यो।
इरान युद्ध: होर्मुज स्ट्रेट पुनः सञ्चालनमा चीनमाथि ट्रम्पको दबाब
शिखर वार्ताको अर्को केन्द्रीय विषय पश्चिम एसियामा जारी अमेरिका–इरान युद्ध थियो। राष्ट्रपति ट्रम्पले चीनको इरानसँगको घनिष्ठ सम्बन्ध उपयोग गरे। उनले इरानलाई शान्ति वार्तामा ल्याउन र रणनीतिक होर्मुज स्ट्रेट पुनः सञ्चालनमा ल्याउन चीनमाथि दबाब दिए।
चीन इरानको सबैभन्दा ठूलो तेल ग्राहक हो। उसको ऊर्जा सुरक्षाको ठूलो हिस्सा होर्मुज स्ट्रेटमा निर्भर गर्छ। युद्धले सिर्जित विश्वव्यापी ऊर्जा सङ्कट र मूल्यवृद्धिले चिनियाँ अर्थतन्त्रलाई असर पारेको छ। त्यसैले जलसन्धि सुचारु हुनु दुवै महाशक्तिको साझा हित हो।
इरान मध्यपूर्वमा चीनको रणनीतिक साझेदार हो। यसले अमेरिकी प्रभावलाई सन्तुलनमा राख्छ। वार्ताअघि इरानी विदेशमन्त्री अब्बास अराक्चीले बेइजिङ भ्रमण गरे। यसले चीनको मध्यस्थकर्ता भूमिका बलियो बनायो। चीनले इरानलाई कूटनीतिक प्रयास समर्थन गर्न आग्रह गर्यो। ट्रम्पले लगाएको सैन्य सहयोगको आरोप बेइजिङले कडा रूपमा अस्वीकार गर्यो।
एआई र प्रविधि युद्ध: चिप्स निर्यातमा अमेरिकी प्रतिबन्ध, बौद्धिक सम्पत्ति चोरीको आरोप
राष्ट्रपति ट्रम्पले एनभिडिया, एप्पल र टेस्लाका दिग्गजहरूलाई भ्रमण दलमा सामेल गराए। यसको उद्देश्य कृत्रिम बुद्धिमत्ता र अत्याधुनिक प्रविधिमा अमेरिकी नेतृत्व सुनिश्चित गर्नु थियो। चीनले एनभिडियाका शक्तिशाली एआई चिप्स निर्यातमा लागेको अमेरिकी प्रतिबन्ध हटाउन माग गर्यो।
वार्ताअघि ह्वाइट हाउसले दोस्रो श्रेणीका चिप्स निर्यातमा लचकता देखाउने सङ्केत गर्यो। तर, ठोस ढुवानी अझै सुरु भएको छैन। यसै वर्ष अमेरिकाले चीनमाथि एआई प्रयोगशालाहरूको बौद्धिक सम्पत्ति चोरीको आरोप लगायो। बेइजिङले त्यसलाई पूर्ण रूपमा खण्डन गर्यो। शिखर वार्तामा एआईको सुरक्षित विकास र नियमनका लागि संयुक्त वार्ता संयन्त्र स्थापनामा गम्भीर छलफल भयो।
अमेरिकी प्रविधि कम्पनीहरूको चीनको विशाल बजारमा सहज पहुँच सुनिश्चित गर्नु प्रमुख प्राथमिकता थियो। ट्रम्पले वार्ताअघि नै स्पष्ट पारे: ‘म उनीहरूको अर्थतन्त्र हाम्रा ठूला प्रविधि कम्पनीहरूका लागि खुला गराउन जोड दिनेछु।’
व्यापार युद्धविराम: १४०% भन्सार घट्यो, चीनको दुर्लभ खनिज निर्यात फुकुवा
शिखर वार्ताको मुख्य आधार व्यापारिक मुद्दाहरू थिए। सन् २०२५ अक्टोबरमा दक्षिण कोरियाको बुसानमा प्रारम्भिक सहमति भयो। त्यसपछि दुई पक्षले एकवर्षे व्यापार युद्धविरामलाई सुदृढ बनाए। बुसान सहमतिपछि राष्ट्रपति ट्रम्पले चिनियाँ आयातमा लगाइएको १४० प्रतिशतसम्मको भन्सार महसुल घटाए। चीनले बदलामा दुर्लभ खनिज (रेयर अर्थ) को निर्यातमा लगाएको प्रतिबन्ध फुकुवा गर्यो।
बेइजिङ वार्तामा व्यापार सम्झौताको म्याद थप्दै स्थायी समाधानको खोजीमा दुवै नेता केन्द्रित रहे। सीले स्पष्ट पारे: ‘आर्थिक र व्यापारिक सम्बन्धको सार पारस्परिक लाभ नै हो। मतभेद सुल्झाउन समान स्तरको वार्ता नै एकमात्र विकल्प हो।’
वार्ताका क्रममा चीनले अमेरिकी भटमास, बोइङ विमान र ऊर्जा खरिदको परिमाण बढाउने सङ्केत दियो। बदलामा बेइजिङले अमेरिकाबाट सेमीकन्डक्टर निर्यात प्रतिबन्ध खुकुलो पार्न माग गर्यो। चिनियाँ कम्पनीहरूमाथिको अवरोध हटाउन र अमेरिकी बजारमा चिनियाँ लगानीका लागि सहज वातावरण बनाउन सर्त राख्यो। चिनियाँ उपप्रधानमन्त्री हि लिफेङ र अमेरिकी वित्तमन्त्री स्कट बेसेन्टबीचको प्रारम्भिक संवादले सहमतिको आधार तयार पारेको थियो।
जी-२ को पुनरुत्थान: ट्रम्पले स्वीकारे चीनको बढ्दो अन्तर्राष्ट्रिय हैसियत
दुई महाशक्तिबीच मध्यपूर्वको तनाव, युक्रेन सङ्कट र कोरियाली प्रायद्वीपको सुरक्षामा गहन विचार आदानप्रदान भयो। उनीहरूले सन् २०२६ को एपेक र जी–२० शिखर सम्मेलन सफल बनाउन सहकार्य गर्ने प्रतिबद्धता जनाए।
सन् २०१७ को तुलनामा अमेरिकाले चीनको बढ्दो अन्तर्राष्ट्रिय हैसियत र प्रभाव स्वीकार गर्यो। राष्ट्रपति ट्रम्पले स्वयं जी–२ (अमेरिका–चीन द्विपक्षीय नेतृत्व) को अवधारणा पुनर्जीवित गरे।
औपचारिक वार्ता समापनपछि दुई नेताबीच व्यक्तिगत सम्बन्ध प्रगाढ बनाउन सांस्कृतिक कार्यक्रम भए। उनीहरूले बेइजिङको ऐतिहासिक टेम्पल अफ हेभनको संयुक्त भ्रमण गरे। बिहीबार साँझ ग्रेट हल अफ द पिपुलमा राष्ट्रपति ट्रम्पको सम्मानमा राजकीय रात्रिभोज आयोजना भयो। दुवै देशका उच्च अधिकारी र व्यावसायिक प्रतिनिधिहरू उपस्थित थिए।
