पोखराको मित्र मिलन सहकारी ठगीमा रास्वपा नेता बोधराज रेग्मीसहित २६ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
कास्की प्रहरीले जिल्ला अदालतमार्फत् यो पुर्जी जारी गरेको हो। रास्वपा स्याङ्जाका नेता रेग्मी पनि यसमा परेका छन्।
पुर्जी जारी भएसँगै रेग्मी फरार भएका छन्। प्रहरीले उनको खोजी तीव्र पारेको छ। उनी रास्वपाबाट स्याङ्जा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य धनञ्जय रेग्मीका स्वकीय सचिव हुन्।
रेग्मी २०७९ को प्रतिनिधिसभा निर्वाचनमा स्याङ्जा क्षेत्र नं. १ बाट रास्वपाका उम्मेदवार थिए। उनी स्याङ्जाको पुतलीबजार नगरपालिका-५, नयाँबजारका बासिन्दा हुन्।
सहकारीबाट ऋण लिएर नतिर्नेहरूमाथि प्रहरीले अनुसन्धान बढाएको छ। कास्की प्रहरीका एक अधिकृतले पुर्जी जारी भएको पुष्टि गरे।
यसअघि २०८० मंसिरमै यस सहकारीका सञ्चालकहरूविरुद्ध कारबाही अघि बढेको थियो। त्यसबेला वडाध्यक्ष, वकिलदेखि पत्रकारसम्मलाई पक्राउ पुर्जी जारी भएको थियो। केही अहिले जेल सजाय काटिरहेका छन्।
संस्थाका अध्यक्ष रमण पौडेल र कार्यकारी प्रमुख किरण अधिकारीलाई प्रहरीले पहिले नै पक्राउ गरिसकेको छ। बचतकर्ताको रकम फिर्ता नभएपछि पीडितहरूले उजुरी दिएका थिए।
सहकारी रजिस्ट्रारको कार्यालय पोखराका अनुसार वित्तीय विवरणमा कैफियत देखिएको छ। कार्यालयले २६ करोडभन्दा बढी रुपैयाँ हिनामिना भएको निष्कर्ष निकालेको थियो।
