NM Khabar 15 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

महालेखाको प्रतिवेदन: गौरवका आयोजनाको लागत २४ खर्ब, प्रतिफल न्यून

महालेखापरीक्षकको ६३औँ प्रतिवेदनअनुसार राष्ट्रिय गौरवका २७ आयोजनाको संशोधित लागत २४ खर्ब १५ अर्ब नाघेको छ, तर तीनवटा मात्रै सम्पन्न भएका छन्। यी आयोजनामा ५ खर्ब ४ अर्ब ५५ करोड लगानी भइसकेको छ। नेपाल वायुसेवा निगमको जहाज खरिद ऋण दायित्व ५५ अर्ब ४ करोड ७८ लाख रुपैयाँ पुगेको प्रतिवेदनले औँल्याएको छ।
Sarita Pandey
Sarita Pandey
15 May 2026, 7:35 pm १ मिनेट पढाइ
आकार:
Share:

राष्ट्रिय गौरवका आयोजनामा लगानीको प्रतिफल न्यून

महालेखापरीक्षकको ६३औँ प्रतिवेदनले राष्ट्रिय गौरवका २७ आयोजनाको संशोधित लागत २४ खर्ब १५ अर्ब नाघेको देखाएको छ। तीमध्ये तीनवटा मात्रै सम्पन्न भएका छन्। यी आयोजनामा गरिएको लगानीबाट अपेक्षित प्रतिफल प्राप्त हुन नसकेको प्रतिवेदनले औँल्याएको छ।

प्रतिवेदनअनुसार राष्ट्रिय गौरवका आयोजनामा हालसम्म ५ खर्ब ४ अर्ब ५५ करोड रुपैयाँ बराबर लगानी भइसकेको छ। यी आयोजनाको संशोधित लागत अनुमान २४ खर्ब १५ अर्ब ६ करोड ९७ लाख रुपैयाँ र ६९.७ करोड अमेरिकी डलर पुगेको छ।

कुल २७ वटा राष्ट्रिय गौरवका आयोजनामध्ये गौतमबुद्ध विमानस्थल, माथिल्लो तामाकोशी जलविद्युत् आयोजना र पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल गरी तीनवटा मात्रै सम्पन्न भएका छन्।

समष्टिगत रूपमा ५ वटा आयोजनाले ८० प्रतिशत वा सोभन्दा माथि भौतिक प्रगति हासिल गरेका छन्। ५० देखि ८० प्रतिशत प्रगति हासिल गर्ने आयोजनाको संख्या चार छ। पचास प्रतिशतभन्दा न्यून प्रगति भएका आयोजनाको सङ्ख्या नौ रहेको छ।

चारवटा आयोजनाको भौतिक प्रगति नखुलेको र दुईवटा आयोजना सुरु नै नभएको प्रतिवेदनमा उल्लेख छ। आव २०७८/७९ सम्म सम्पन्न गर्नुपर्ने अवधि रहेको पशुपति क्षेत्र विकास कोषको हालसम्मको प्रगतिसमेत नखुलेको प्रतिवेदनले देखाएको छ।

अधिकांश आयोजनामा कार्यक्षेत्र थप गर्दै जाने तथा निर्माण सम्पन्न गर्नुपर्ने अवधिमा नसकिएका कारण लगानीअनुसारको प्रतिफल हासिल हुन सकेको छैन। आयोजनाको बारम्बार म्याद थपिने प्रवृत्तिले लागत वृद्धि हुनुका साथै प्रभावकारितामा समेत प्रश्न उठेको छ।

नेपाल वायुसेवा निगमको जहाज खरिद ऋण दायित्व ५५ अर्ब

महालेखापरीक्षकको ६३औँ प्रतिवेदनले नेपाल वायुसेवा निगमको जहाज खरिद ऋण दायित्व ५५ अर्ब ४ करोड ७८ लाख रुपैयाँ पुगेको उल्लेख गरेको छ। यो रकम सावाँ र ब्याजसहित कर्मचारी सञ्चय कोष तथा नागरिक लगानी कोषलाई भुक्तानी गर्नुपर्नेछ।

निगमले एयरबस ए–३२० तथा ए–३३० जहाज खरिदका लागि सरकारको जमानीमा ऋण लिएको थियो। २०७० असार ४ गते र २०७४ जेठ २८ मा कर्मचारी सञ्चय कोषबाट २२ अर्ब रुपैयाँ तथा नागरिक लगानी कोषबाट १२ अर्ब रुपैयाँ ऋण लिइएको थियो। हाल कर्मचारी सञ्चय कोषलाई ३१ अर्ब ३३ करोड ९२ लाख ३१ हजार रुपैयाँ र नागरिक लगानी कोषलाई २१ अर्ब १२ करोड १७ लाख रुपैयाँ तिर्न बाँकी छ।

Sarita Pandey

Sarita Pandey

संवाददाता · NM Khabar

सरिता पाण्डे NM खबरकी नीति र शासन संवाददाता हुन्। कानून, संवैधानिक सुधार र सार्वजनिक नीतिका जटिल विषयहरूलाई सरल भाषामा पाठकसमक्ष पुर्‍याउने उनको क्षमता विशेष छ। काठमाडौं स्कूल अफ लबाट कानून पढेकी उनी नियामक मामिला र न्यायपालिकासम्बन्धी रिपोर्टिङमा दक्ष छिन्।

सम्बन्धित समाचार