बाराको जीतपुरसिमरा उपमहानगरपालिका-१ मा तीन वर्षीया बालिकाको बलात्कार तथा हत्या घटनामा प्रहरीले दुई नाबालकसहित ९ जनालाई पक्राउ गरेको छ।
गत भदौ २ गते भक्तिनगरस्थित एक खाली घरमा बालिका मृत भेटिएकी थिइन्। जिल्ला प्रहरी कार्यालय बाराले अपहरण, शरीर बन्धक, जबरजस्ती करणी र कर्तव्य ज्यानमा मुद्दा दर्ता गरेको छ।
पक्राउ परेका ९ जनालाई बारा जिल्ला अदालतबाट पहिलो पटक ४ दिन र दोस्रो पटक थप ५ दिनको म्याद थप गरिएको छ। प्रहरी नायब उपरीक्षक (डीएसपी) मिन बहादुर घलेले अनुसन्धान भइरहेको जानकारी दिए।
प्रहरीका अनुसार पक्राउ पर्नेमा जीतपुरसिमरा-१ का पुग्रेश चौधरी (२४), इन्द्रजित चौधरी (५०), पुष्पा चौधरी (२५), ममता चौधरी (२६), शेख हसमुदिन आलम (४५), टेकबहादुर थापामगर (४०) र वडा नम्बर-२ का नवीन विक (३३) छन्।
घटनामा संलग्न १६ र १४ वर्षका दुई बालकलाई समेत पक्राउ गरिएको छ। प्रहरीले उनीहरूको पहिचान ‘क’ र ‘ख’ राखेको छ।
प्रहरीले अभियुक्तहरूको बयान, घटनास्थलको प्रमाण र उनीहरूबीचको सम्पर्कबारे सूक्ष्म अनुसन्धान गरिरहेको छ।
