बर्दियाको ठाकुरबाबा मन्दिर परिसरमा ब्रिटिसकालीन एक सिक्का र सानो शिवलिङ्ग फेला परेको छ। यी सामग्रीले यस क्षेत्रमा प्राचीन मानव बसोबास र धार्मिक गतिविधि भएको प्रमाण प्रस्तुत गरेको अनुसन्धानकर्ताहरूको भनाइ छ।
रथ शैलीको शिखर शैलीमा निर्मित मन्दिरका अवशेष, त्रिरथ संरचना, मण्डप तथा अन्य पुरातात्त्विक सामग्रीहरू पनि उत्खननमा भेटिएका छन्। प्राप्त संरचना र वस्तुहरू विभिन्न ऐतिहासिक कालखण्डसँग सम्बन्धित रहेको प्रारम्भिक अनुमान छ।
फेला परेको ब्रिटिसकालीन सिक्काले यस क्षेत्रको ऐतिहासिक व्यापारिक तथा सामाजिक सम्बन्धबारे थप अध्ययन आवश्यक देखाएको छ। शिवलिङ्गको प्राप्तिले यहाँ प्राचीनकालदेखि धार्मिक आस्था र पूजा–आराधनाको परम्परा रहेको संकेत गरेको अनुसन्धानकर्ताहरूले बताएका छन्।
पुरातत्व विभागका अधिकृत भास्कर ज्ञवालीले प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमाललाई यसबारे जानकारी गराएका थिए।
