प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सत्ता पक्षका सांसदहरू नेपालले भारतको सीमा मिचेको हो भनेर पुष्टि गर्न न्वारनदेखिको बल लगाएर दौडिरहेको भन्दै आपत्ति जनाए। बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले आफू यस्तो देखेर लज्जित भएको बताए।
आङदेम्बेले मेरो देशले कसैको सीमा मिचेको छैन भनेर हिँड्नुपर्नेमा सत्ता पक्षका सांसदहरूको गतिविधिले वीर भक्ति थापाको आत्माले समेत धिक्कार्ने टिप्पणी गरे।
उनले लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भूमि भएको र समस्याको समाधान गहन कूटनीतिक संवादबाटै हुनुपर्नेमा जोड दिए। उत्तेजना र आवेशले नभई संयमित कूटनीतिक प्रक्रियाबाट हल खोज्नुपर्ने उनको धारणा थियो।
आङदेम्बेले कांग्रेसले विगतमा आफ्नै सरकारका कमजोरी केलाएको स्मरण गर्दै अहिले पनि नैतिक धरातलमा उभिएर बोल्ने गरेको बताए। उनले वर्तमान संसद्मा प्रश्न गर्ने क्षमताले आत्महत्या गरेको जस्तो कारुणिक दृश्य देखेको उल्लेख गरे।
