शेयर र घरजग्गा कारोबारमा लाग्ने पुँजीगत लाभकर ७.५ प्रतिशत र १० प्रतिशतसम्म पुगेको छ। सरकारले आर्थिक विधेयक २०८३ र आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत यो व्यवस्था संशोधन गरेको हो। शुक्रबार संसद्मा प्रस्तुत विधेयकले नयाँ कर दरलाई समेटेको छ।
नयाँ व्यवस्थाअनुसार, सूचीकृत कम्पनीका धितोपत्र बिक्री गर्दा लाग्ने लाभकर नै अन्तिम हुनेछ। एक वर्षभन्दा बढी समयसम्म शेयर होल्ड गरेर बिक्री गर्दा ७.५ प्रतिशत लाभकर लाग्नेछ। एक वर्षभन्दा कम अवधिमा बिक्री गर्दा भने १० प्रतिशत लाभकर तिर्नुपर्नेछ।
यसअघि आयकर ऐनमा धितोपत्र बोर्डमा सूचीकृत निकायको हितको निःसर्गबाट प्राप्त लाभमा प्राकृतिक व्यक्तिका लागि ५ प्रतिशत (३६५ दिनभन्दा बढी स्वामित्व) र ७.५ प्रतिशत (३६५ दिनभन्दा कम स्वामित्व) लाभकर लाग्ने व्यवस्था थियो।
त्यस्तै, गैरव्यावसायिक सम्पत्ति (जग्गा तथा भवन) को हकमा पाँच वर्ष वा सोभन्दा बढी स्वामित्व भएमा ५ प्रतिशत र पाँच वर्षभन्दा कम भएमा ७.५ प्रतिशत लाभकर लाग्ने व्यवस्था थियो। अब यो परिवर्तन भई पाँच वर्षभन्दा बढी स्वामित्वको घरजग्गामा ७.५ प्रतिशत र पाँच वर्षभन्दा कम अवधिको घरजग्गामा १० प्रतिशत पुँजीगत लाभकर लाग्नेछ।
सरकारले विनियोजन विधेयकमार्फत विकास निर्माण आयोजनाका लागि जग्गा प्राप्ति गर्दा, घरजग्गा रजिष्ट्रेसनका लागि तोकिएको सरकारी मूल्यांकनसम्मको रकममा पुँजीगत लाभकर नलाग्ने व्यवस्था गरेको छ।
